
बिहिवार , श्रावण ८, २०८२
काठमाडौं, ८ साउन । सभामुख देवराज घिमिरेले सडकमा आन्दोलन गरेपछि मात्रै सुनुवाई हुने स्थितिको अन्त्य गर्न जरुरी रहेको बताउनुभएको छ ।
बिहीवार सिंहदरबारमा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका, खोटाङका नगरप्रमुख तीर्थराज भट्टराईको नेतृत्वले हस्तान्तरण गरेको बाँसबाट निर्मित सामग्रीहरु ग्रहण गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले प्रत्येक कुराहरु सडकमा गएर आन्दोलन गरी बाध्य परिस्थिति बनाएपछि मात्रै न्युनतम सुनुवाई गर्ने परिस्थिति अन्त्य गर्न जरुरी रहेको बताउनु भयो ।
उहाँले मागहरु अव्यवहारिक, असान्दर्भिक, अनुचित भए त्यतिबेलै यस्तो भयो भन्न सक्नुपर्ने बताउनु भयो । कोशिसको बाबजुद पनि सुनुवाई भएन भने सडकमा जानेकुरा गैरसंवैधानिक नभएको पनि बताउनु भयो । बाँसको सामग्रीको प्रवद्र्धनका लागि संसदमा कुनै कानूनहरु अड्किएका भए निर्माण गर्नेकुरामा प्रतिनिधि सभा सधैँ अग्रसर रहने बताउनु भयो ।
सभामुख घिमिरेले भन्नुभयो, ‘प्रत्येक कुराहरु सडकमा गएर, आन्दोलन गरेर बाध्यकारी परिस्थिति पारेपछि मात्रै न्युनतम कुराहरुको सुनुवाई हुने परिस्थितिको अन्त्य गर्नुपर्छ । तपाईंका कुराहरु अव्यवहारिक, असान्दर्भिक, अनुचित छन् भने तत्काल सम्भव छैन भन्नेकुरा भन्यो भने नबुझ्ने कुरै छैन ।
प्राथमिकता नपाए सडकमै जानुपर्ने स्थिथिको अन्त्य गर्नुपर्छ । कोशिसको बाबजुद पनि सुनुवाई भएन भने सडकमा जानेकुरा गैरसंवैधानिक होइन । तर त्यो तहमा जानुपर्ने स्थिति नआउनुपर्ने हो । बनाउनुपर्ने कानून, निर्देशिका निर्माण गर्नुपर्ने जस्ता कुराहरु सरकारले नै गर्ने हो ।
संसदमा अड्किएका भए ति पारित हुन्छन् । संसद चलिरहेको छ, त्यहाँ रोकिएको भए पारित गरेर कार्यान्वयन गर्न सकिन्छ । बाँस प्रवद्र्धन गर्नको लागि पर्नुपर्छ ।’
सभामुख घिमिरेले बाँस वनस्पतीलाई धेरै ठाउँमा प्रयोग गर्न सकिने र यसको महत्व उल्लेख्य रहेको बताउनु भयो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij