
बिहिवार , श्रावण ८, २०८२
काठमाडौं, ८ साउन । राष्ट्रिय स्वतन्त्र पार्टीले ललितपुरको भैंसेपाटीस्थित सैवु आवास क्षेत्रमा निर्माणाधिन मन्त्री क्वाटरको पश्चिमतिर ११ मिटर बाटो सुनिश्चित गर्न माग गरेको छ ।
प्रतिनिधि सभाको बिहीवारको बैठकमा रास्वपा सांसद तोषिमा कार्कीले यस्तो माग गर्नुभएको हो । उहाँले लामो समयदेखि बाटो सुनिश्चितताको माग गर्दै स्थानीय नागरिक संघर्षरत रहेपनि सरकारले जबरजस्ती गर्न खोजेको आरोप लगाउनु भयो । सांसद कार्कीले सरकारल दमनकारी शैलीमा राज्य सञ्चालन गर्न खोजिरहेको पनि आरोप लगाउनु भयो ।
उहाँले भन्नुभयो, ‘यो सरकार दमनकारी शैलीमा राज्य चलाउन खोजिरहेको छ । ललितपुरको भैंसेपाटीमा तीन तिर जस्तै पश्चिमतिर पनि ११ मिटर बाटो सुनिश्चित हुनुपर्छ भनेर नागरिकहरु वर्षौंदेखि संघर्षमा हुनुहुन्छ । तर हिजो अकस्मात २०० जना सशस्त्र प्रहरी उभ्याएर साँघुरो सडकमै बाउन्ड्री वाल निर्माण गर्न खोजियो ।
जनताकै जग्गा अघिग्रहण गरेर बनाइएको मन्त्री क्वाटरमा अब फेरि ठूलो आगन किन चाहियो र त्यो जमिन छोड्दैमा मन्त्री क्वार्टर खुम्चिदैनन् । तर नागरिकको बाटो पाउने अधिकार खुम्चिन्छ ।’
सांसद कार्कीले सरकारको जनआकाङ्क्षाविपरितका गतिविधिका कारण व्यवस्थामाथि खतरा उत्पन्न भएको पनि उहाँको भनाइ छ । दुई महिनादेखि आफूहरु आन्दोलनमा रहेपनि सरकारले संसदलाई कठ्पुतली बनाएर सञ्चालन गरिरहेको टिप्पणी गर्नुभयो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij