
शुक्रवार , चैत्र २७, २०७७
भैरहवा, २७ चैत ।
उद्योग व्यापार संगठन रुपन्देहीको आयोजनामा नयाँ वर्षको २०७८ सालको अवसरमा हुने भनिएको ‘सिद्धार्थ सडक खाना महोत्सव तथा बृहत सांस्कृतिक कार्यक्रम–२०७७’ स्थगित गरिएको छ । २०७७ चैत ३१ गते भैरहवामाआयोजना गर्न लागिएकोे ‘नयाँ वर्ष इभ’ कार्यक्रम स्थगित गरिएको हो ।
गृह मन्त्रालय र स्वास्थ्य मन्त्रालयको परिपत्र अनुसार भिडभाडजन्य मेला, सम्मेलन, प्रर्दशनी महोत्सव कार्यक्रम नगर्न/नगराउन गरिएको निर्देशन बमोजिम उद्योग व्यापार संगठन रुपन्देही, जिल्ला प्रशासन कार्यालय तथा डी.सी.एम.सी.को बैठक गरी कार्यक्रम स्थगित गर्न गरिएको अनुरोध अनुसार महोत्सव स्थगित गरिएको संगठनका अध्यक्ष नारायण प्रसाद भण्डारीले बताए । पुनः नयाँ प्रकारको कोभिड–१९ को प्रभाव समाजमा बढ्न नदिने सामाजिक दायित्व अनुसार आयोजित सडक खाना महोत्सव स्थगित गरिएको भण्डारीले बताए ।
‘संगठनले गत चैत १ गतेका दिन पत्रकार भेटघाट कार्यक्रम आयोजना गरी संगठनले सडक खाना महोत्सव आयोजना गर्ने र त्यसको लागी आवश्यक विभिन्न ठाउँहरुमा प्रस्ताव गरी सिद्धार्थनगर नगरपालिका सह–आयोजक, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय लुम्बिनी प्रदेश प्रबद्र्धक रहने गरी कार्यक्रम आयोजना गरिएको जानकारी गराईएकोमा अहिले कार्यक्रम स्थगित गर्दा हुने पर्यटन क्षेत्रको चहलपहल नहुने साथै कार्यक्रम आयोजनामा सहयोगी संघ–संस्था, व्यक्ति, व्यवसायी सबैमा पर्न जाने क्षतिप्रति दुःख व्यक्त गर्न चाहन्छौं, ’भण्डारीले भने ।
साथै कोभिड–१९ को कारणले उद्योग व्यवसाय र पर्यटन क्षेत्रमा कम भन्दा कम असर पर्ने गरी निर्देशन गर्नको लागी नेपाल सरकार र सरकारको निकायलाई संगठनले आग्रह गरेको छ ।
पुन: कोभिड–१९ को हल्ला र असर कम गरी व्यापार व्यवसाय निरन्तरता गर्न व्यापार व्यवसायमा असर नपर्ने खालका मापदण्ड थप गर्न पनि जिल्ला प्रशासन कार्यालय समक्ष अनुरोध गरिएको संगठनका महासचिव अनिल कुमार ज्ञवालीले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij