२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

तिनाउका टिप्पर व्यवसायीद्वारा रंगशालालाई सहयोग

शुक्रवार , चैत्र २७, २०७७

बुटवल, २७ चैत ।
पाल्पाको तिनाउ गाउँपालिका–३ का टिप्पर व्यवसायीहरुले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणमा सहयोग पुर्याउन ५० टिप्पर निर्माण सामग्री निःशुल्क ढुवानी गर्ने भएका छन् । व्यवसायीहरुले धुर्मुस–सुन्तली फाउण्डेशनले जनस्तरबाट संकलित रकमबाट चितवनमा निर्माणाधीन रंगशालालाई पचास टिप्पर निर्माण सामग्री निःशुल्क ढुवानी गर्न लागेका हुन् । 

तिनाउका व्यवसायीहरुले आइतबार बिहान उक्त निर्माण सामग्री बोकेर चितवनस्थित रंगशाला जाने तयारी गरेको निर्माण सामग्री सहयोग हस्तान्तरण कार्यक्रमका संयोजक तथा तमन्ना मल्टिप्रपोज प्रा.लि.का कार्यकारी प्रमुख तोया लम्सालले बताए ।

रंगशाला निर्माणका लागि सहयोग संकलन गर्न गत चैत १० गतेदेखि मेची महाकाली अभियानमा निस्किएको धुर्मुस–सुन्तलीसहितको टोलीलाई तिनाउ क्षेत्रमा स्वागत गर्दै सिद्धबाबा मन्दिर लगायत तिनाउबासीहरुले संकलन गरेको नगद १ लाख बढी सहयोग हस्तानतरण गरिसकेको लम्सालले बताए । 

‘तिनाउ क्षेत्रबाट एक टिप्पर निर्माण सामग्री खरिद गरेर रंगशालामा पु¥र्याउँदा करिब ३० हजार रुपैँया खर्च आउँछ ।’ उनले भने । साथै उनले जनस्तरबाट बन्दै गरेको अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला निर्माणमा सहयोग गर्न आग्रह गरेका छन् ।

रंगशाला निर्माण सम्पन्न गर्न करिब तीन अर्ब लाग्ने अनुमान गरिएको छ । हाल रङ्गशालाको मैदान र प्यारापिटको काम भइरहेको छ । गत साउन १ गतेदेखि संरचनाको काम सुरु गरिएको रंगशाला एक वर्ष ६ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

भरतपुर महानगरपालिका–१५ स्थित त्रिभुवन विश्वविद्यालयको नाममा रहेको र कृषि तथा वन विज्ञान विश्वविद्यालयले भोगचलन गर्दै आएको जग्गामा रंगशाला निर्माण भइरहेको छ ।