
बिहिवार , श्रावण १५, २०८२
भैरहवा, १५ साउन । विश्व मानव बेचविखनविरुद्धको दिवसको अवसरमा सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देही र अमेरिकन कर्नर भैरहवाले संयुक्त रुपमा मानव बेचविखनविरुद्धको जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ ।
बिहीबार संघको सभाहलमा भएको कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाभित्र अध्ययन गर्ने कक्षा ११ र १२ का विद्यार्थीहरु, विभिन्न संघ–संस्थाका प्रतिनिधिहरु, पत्रकार तथा सरोकारवाला निकायको सहभागीतामा कार्यक्रम गरिएको हो ।
कार्यक्रममा अमेरिकन कर्नरका संस्थापक तथा वरिष्ठ पत्रकार दिलिप भट्टराईले यो कार्यक्रम सचेतनाका लागि आयोजना गरिएको भन्दै व्यवहारमा लागू गर्न सहभागीहरुलाई आग्रह गर्नुभयो । उहाँले सीमा क्षेत्रमा हुने मानवताविरुद्धका अपराधमा सवै एकजुट भएर काम गर्नुपर्ने बताउनुभयो ।
सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष नेत्र प्रसाद आचार्यले बेचविखनविरुद्धको जनचेतनामूलक कार्यक्रमले समाजमा हुने विभिन्न घटनालाई न्यूनीकरण गर्न र मानव बेचविखन रोक्नका लागि सबै पक्षले पहल गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा प्रमुख अतिथि तथा जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरीक्षक गणेश सापकोटाले कानूनले मानव बेचविखनलाई बर्जित गरेको भन्दै प्रहरीले यस्ता तत्वहरुलाई कडा रुपमा कारवाही गर्ने बताउनुभयो । उहाँले समाजमा यस्ता घटनाहरु वा यस्ता तत्वहरु देखिए प्रहरीलाई खबर गर्न पनि आग्रह गर्नुभयो ।
सिद्धार्थ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष ठाकुर कुमार श्रेष्ठले अहिले २१ औं शताब्दीमा पनि नेपालीहरु बेचिन्छन् भन्ने कुरा सुन्दा पनि दुःख लाग्ने भन्दै यस्ता तत्वलाई पूर्ण रुपमा नियन्त्रण गर्न सुरक्षा निकाय तथा यसको क्षेत्रमा कामगर्ने संघ–संस्थाले पहल गर्न आग्रह गर्नुभयो ।
माइती नेपाल भैरहवाका प्रमुख तथा कार्यक्रमका सहजकर्ता माया क्षेत्रीले नेपालबाट हुने मानव बेचविखनको विगत र वर्तमान अवस्थाको विषयमा जानकारी दिदै यसबाट बच्नका लागि अपनाउनुपर्ने विषयहरु प्रस्तुत गर्नुभएको थियो । उहाँले विशेष गरेर भारत तथा भारत हुँदै तेस्रो मूलुकमा नेपालीहरु विभिन्न माध्यमबाट प्रलोभनमा पारेर बेचिने क्रम रहेकाले यसलाई रोक्न सबै पक्षले काम गर्नुपर्ने बताउनुभयो ।
पहिल्लो समय नेपालबाट मानव बेचविखन बढदो रहेको भन्दै यसलाई न्यूनीकरणमा सबै पक्षले पहल गर्ने विषयमा गहन छलफल तथा अन्तरक्रिया भएको सिद्धार्थ उद्योग वाणिज्य संघको कार्यकारी सचिव कमला बस्नेतले बताउनुभयो ।
सिद्धार्थ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष तथा अमेरिकी कर्नर समिति भैरहवाका संयोजक दिलिप कुमार कान्दुको स्वागत तथा संघका सूचना अधिकारी ज्योती पाण्डेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij