२०८२, श्रावण १६ गते

Aug 01 2025 | २०८२, श्रावण १६ गते

रूपन्देही–३ को उम्मेदवारका लागि तीनजनाको नाम पठाउन एमालेको निर्देशन

बिहिवार , श्रावण १५, २०८२

काठमाडौं, १५ साउन । रुपन्देही क्षेत्र नम्बर ३ को उपनिर्वाचनको लागि नेकपा (एमाले)ले तीन जना उम्मेदवारको नाम सिफारिस गर्न जिल्ला र प्रदेश कमिटीलाई निर्देशन दिएको छ । पार्टीका महासचिव शंकर पोखरेलले एक महिलासहित तीनजना उम्मेदवारको नाम सिफारिस गर्न पत्र पठाउनुभएको हो ।

पत्रमा उम्मेदवार सिफारिस गर्दा निर्वाचन क्षेत्र समन्वय कमिटीले जिल्ला र प्रदेश कमिटीसँग पनि राय लिन भनिएको छ । पत्र अनुसार जिल्ला कमिटीले निर्वाचन क्षेत्रीय समन्वय कमिटीलाई उम्मेदवार सिफारिसका लागि जानकारी गराउनेछ ।

एमाले केन्द्रीय कार्यालय प्रमुख डा. भिष्म अधिकारीले बुधबार दुवै कमिटीलाई पत्राचार गरेर आगामी भदौ १५ गतेभित्र उम्मेदवारको नाम पठाइसक्न निर्देशन गरिएको छ ।

मातहतका कमिटीबाट आएका नामलाई पार्टी केन्द्रीय सचिवालयले एकजनाको नाममा निर्णय गर्ने डा. अधिकारीले जानकारी दिनुभयो । 

२०७९ मंसिर ४ गते भएको निर्वाचनमा रुपन्देही–३ मा एमालेको समर्थनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता दीपक बोहरा निर्वाचित हुनुभएको थियो । बोहराको २०८१ चैत १९ गते निधन भएपछि सो पद रिक्त भएको छ । निर्वाचन आयोगले कात्तिक १७ गते उक्त क्षेत्रमा उपनिर्वाचनको मिति घोषणा गरिसकेको छ ।