
शुक्रवार , श्रावण १६, २०८२
भैरहवा, १६ साउन । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१४ दुर्गानगरस्थित दुर्गा वेद वेदाङ्ग विद्यापीठमा एकादेश रुद्राभिषेक, खिरप्रसाद वितरण तथा राम चरित्र मानस चर्चा कार्यक्रम बिहीबार सम्पन्न भएको छ । नेपाल–भारत जनमैत्री संगठन जिल्ला शाखा रुपन्देहीको आयोजनामा उक्त कार्यक्रम भएको हो ।
श्रावणी महिनाको अवसरमा खीरप्रसाद वितरण तथा रामचरित्र मानसका रचयिता तुलसीदासको जन्मजयन्तीको अवसरमा तुलसीदासको जीवनी एवं राम चरित्र मानस चर्चा कार्यक्रम गरिएको संगठनका जिल्ला अध्यक्ष युगराज पाण्डेयले बताउनुभयो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री लिला गिरीले नेपाल–भारत जनमैत्री संगठनले सराहनीय कार्य गरेको बताउनुभयो । उहाँले नेपाल–भारत सम्बन्धका बारेमा चर्चा गर्नुभयो ।
कार्यक्रममा रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी अयोध्या प्रसाद भण्डारी, रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) प्रदीप बहादुर क्षेत्री, शिक्षा विकास तथा समन्वय इकाई रुपन्देहीका प्रमुख उपसचिव माधव बन्जाडे, नेकपा (एमाले) रुपन्देहीका अध्यक्ष यज्ञ गैरेको विशिष्ट आतिथ्यता रहेको थियो ।
कार्यक्रममा रुद्राभिषेकर्ता एवं सहयोगी युवा व्यवसायी अन्जु गुरुङ, संगठनका जिल्ला उपाध्यक्ष गणेश उपाध्याय, सचिव सुनिल कुमार गुप्ता लगायतले बोल्नुभएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij