
शनिवार , चैत्र २८, २०७७
काठमाण्डौं, २८ चैत ।
नेपाल पत्रकार महासंघको बुधबार भएको निर्वाचनबाट विपुल पोखरेल नेतृत्वको संयुक्त लोकतान्त्रिक प्यानल बिजयी भएको छ । निर्वाचन समितिका अनुसार आज सकिएको मतगणना अनुसार सो प्यानलले अध्यक्षमा पोखरेलसहित पदाधिकारी र सदस्यमा बर्चश्व कायम गरेको छ।
निर्वाचन समितिका अनुसार अध्यक्षमा पोखरेलसहित वरिष्ठ उपाध्यक्षमा रमेश विष्ट, महिला उपाध्यक्षमा बाला अधिकारी, उपाध्यक्ष समावेशीमा उदय जिएम महासचिवमा रोशन पुरी भारी मतले बिजयी भएका छन् । सचिवमा गोविन्द चौलागाई, सचिव आदिवासीमा नारायण सुन्दर किलम्बु, सचिव दलितमा हेमकर्ण विक, सचिव एशोसियटस्मा पवन आचार्य, कोषाध्यक्षमा कलेन्द्र सेजुवाल, लेखा समिति संयोजकमा लेखनाथ न्यौपाने निर्वाचित भएका छन् ।
नेकपा (एमाले) निकट प्रेस चौतारी नेपाल, राप्रपा निकट मिडिया नेपाल, जसपा निकट प्रेस मञ्च नेपालसहितको प्यानलबाट निर्वाचनमा होमिएका निर्मला शर्मा नेतृत्वको प्यानलले पराजय बेहोरेको छ । केही जिल्लामा जित सुनिश्चित गरे पनि नेतृत्वले हार व्यहोरेको महासंघ निर्वाचन समितिले जनाएको छ।
२६ औं महाधिवेशन अन्तर्गत गठित निर्वाचन समितिले आज साँझ ५ बजे महासंघ केन्द्रिय कार्यालयमा पत्रकार सम्मेलन गरी अन्तिम परिणाम सार्वजनिक गर्ने निर्णय गरेको छ । नेपाल प्रेस युनियन, प्रेस सेन्टर, प्रेस चौतारी नेपाल समुहसहित ११ संगठनको संयुक्त प्यानल खडा गरी पोखरेल नेतृत्वको समूहले उम्मेदवारी दिएको थियो भने उता प्रेस चौतारी नेपाल, प्रेस मञ्च, मिडिया नेपाल लगायतका ९ वटा संगठनको प्यानलबाट निर्मला शर्मा नेतृत्वको समूहले प्रतिष्पर्धा गरेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij