२०८२, श्रावण २० गते

Aug 05 2025 | २०८२, श्रावण २० गते

इन्द्रबहादुर बानियाँ वागमती प्रदेशको छैठौं मुख्यमन्त्रीमा नियुक्त हुँदै

मंगलवार , श्रावण २०, २०८२

काठमाडौं, २० साउन । वागमती प्रदेशको राजनीतिक द्वन्द्व अन्ततः टुंगोमा पुगेको छ ।

लामो समयदेखि नेपाली काँग्रेसभित्र चलिरहेको गुटीय विवाद, नेतृत्वको असन्तुष्टि र अविश्वासको प्रश्तावपछि मुख्यमन्त्री बहादुरसिंह लामाले पदबाट राजीनामा दिएका छन् । उनको स्थानमा नेपाली काँग्रेस वागमती प्रदेश सभापति तथा संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ नयाँ मुख्यमन्त्री बन्ने निश्चित भएको छ ।

लामो समयदेखि नेपाली काँग्रेसमा सक्रिय नेताको रूपमा परिचित बानियाँको राजनीतिक यात्रा झन्डै चार दशक लामो छ । मकवानपुरको हर्नामाडीमा २०२७ सालमा जन्मिएका बानियाँले २०४४ सालमा राजनीतिमा सक्रिय सहभागिता जनाएका थिए । विद्यार्थी राजनीतिबाट शुरु भएको उनको यात्रा संविधानसभा सदस्य, राज्यमन्त्री हुँदै अहिले वागमती प्रदेशको शिर्ष नेतृत्वमा पुगेको छ । 

२०८१ आठ साउनमा बहादुरसिंह लामा मुख्यमन्त्री बनेसँगै प्रदेशको नेतृत्व काँग्रेसले लिएको थियो । यद्यपि, एक वर्षअघिको सहमतिअनुसार काँग्रेस र एमालेले २०–२० महिना प्रदेशको नेतृत्व गर्ने सहमति गरेका थिए । लामाले नुवाकोटबाट काँग्रेसको तर्फबाट पहिलो पटक मुख्यमन्त्रीको पद सम्हालेका थिए । तर समयको चालले परिस्थिति बदलिएको छ । 

आगामी बजेट तथा कार्यसम्पादनको विषयमा काँग्रेसभित्रको असहमतिले सरकारभित्रै दरार ल्यायो । बानियाँपक्षीय नेताहरूले लामा नेतृत्वको आलोचना गर्दै सत्ता समीकरणलाई नै उल्ट्याउने तयारी थाले । लामामाथि संसदीय दलमै विश्वास गुमेको भन्दै काँग्रेसकै २२ जना सांसदले उनको विपक्षमा मत दिएपछि उनी दलको नेताबाट पदच्युत भए । साथै मन्त्रीपरिषद्मा रहेका चारजना काँग्रेस मन्त्रीले एकैपटक राजीनामा दिएपछि लामाको नेतृत्व संकटमा प¥यो । 

यसपछि, नेपाली काँग्रेस संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँ निर्वाचित भए । संविधानको धारा १६८(२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्ने प्रदेशसभा सदस्यले सरकार गठन गर्नसक्ने प्रावधानअनुसार बानियाँले एमालेसहित ६४ सांसदको समर्थनमा मुख्यमन्त्री पदको दाबी गरेका हुन् । कुल ११० सदस्य रहेको बागमती प्रदेश सभामा बहुमतको लागि ५६ जना सांसद आवश्यक पर्छ । 

यता मुख्यमन्त्री लामाले असहयोग, स्वार्थ समूहको दबाब र राजनीतिक षड्यन्त्रको शिकार भएको बताएका छन् । राजीनामा घोषणापछि उनले आफ्नो कार्यकाल इमान्दारिता र निष्ठासाथ सञ्चालन गरेको दाबी गरे । तर संसदीय बहुमतको यथार्थले उनलाई पदबाट बाहिरिन बाध्य बनायो ।

सोमवार लामा पक्षबाट प्रदेश प्रमुख कार्यालयमा राजीनामा पत्र बुझाइएपछि मंगलवार प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नयाँ सरकार गठनको लागि मुख्यमन्त्री दाबी पेश गर्न आह्वान गरे । आज दिउँसो २ बजेसम्मको म्यादभित्र इन्द्रबहादुर बानियाँले काँग्रेस र एमालेको समर्थनसहित मुख्यमन्त्रीको दाबी दर्ता गराएका छन् । 

प्रदेश प्रमुखको कार्यालयले दिउँसो ४ बजे बानियाँको शपथ ग्रहण समारोह तय गरेको छ। बानियाँले शपथ लिँगेपछि तत्काल मन्त्रिपरिषद् विस्तारको तयारी भइरहेको छ । प्रारम्भिक जानकारी अनुसार सत्ता साझेदार दल एमालेबाट मन्त्रीहरूको नाम तोकिएको छ । 

 नेकपा एमालेको तर्फबाट किरण थापा मगरलाई पुनः स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको छ । साथै जयराम थापालाई श्रम, रोजगार तथा यातायात मन्त्री, भरतबहादुर केसीलाई वन तथा वातावरण मन्त्री, मधुसुदन पौडेललाई कृषि तथा पशुपंक्षी विकास मन्त्री, डा. दिनेशचन्द्र देवकोटालाई भौतिक पूर्वाधार विकासमन्त्री र बिन्दु श्रेष्ठलाई उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रीको जिम्मेवारी तोकिएको छ ।

यद्यपि, बानियाँ नेतृत्वको सरकारको स्थायित्व अझैपनि राजनीतिक समझदारी र कार्यसम्पादनमा निर्भर रहनेछ। खासगरी आगामी आठ महिनामा उनले काँग्रेस र एमालेबीचको सत्ता बाँडफाँड, बजेट कार्यान्वयन र प्रदेश सरकारको विश्वसनीयता कायम राख्नुपर्ने चुनौती छ । 
बानियाँको अगुवाईमा बनेको यो गठबन्धन सरकारले प्रदेशमा स्थायित्व कायम गर्नसक्छ कि सक्दैन । त्यसले आगामी संघीय राजनीतिलाई समेत प्रभाव पार्नेछ ।