२०८२, श्रावण २१ गते

Aug 06 2025 | २०८२, श्रावण २१ गते

सडक पूर्वाधार निर्माण सरकारको उच्च प्राथमिकतामा : उपप्रधानमन्त्री पौडेल

बुधवार , श्रावण २१, २०८२

काठमाडौं, २१ साउन । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले धुलो र हिलो रहित सडक पूर्वाधार निर्माणलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ ।

बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकारले सडक पूर्वाधारको सन्दर्भमा धुलो र हिलो रहित सडकको मात्रै परिकल्पना नगरेको भन्दै त्यसलाई व्यवहारिक रुपमा सार्थक तुल्याउने काममा सरकार लागेको जिकिर गर्नुभयो ।

उहाँले सरकारले गुणस्तरीय सडक निर्माणमा जोड दिइरहेको पनि बताउनु भयो । उहाँले सरकारले पूर्वपश्चिम राजमार्गको सडक स्तरोन्नति गरिरहेको, मध्यपहाडी लोकमार्गको काम पनि भइरहेको जानकारी गराउनु भयो । आवश्यक परेका ठाउँमा नीतिहरु संशोधन गर्ने काममा पनि सरकार लागिरहेको बताउनु भयो ।

उहाँले बजेट निर्माणमा दिनुभएको सुझाव जस्तै  प्रभावकारी कार्यान्वयनमा पनि त्यत्तिकै जोड दिन आग्रह गर्नुभयो । पछिल्लो समय अर्थतन्त्रको सबै सूचकहरुमा सकारात्मक सुधार भइरहेको बताउनु भयो । 

उपप्रधानमन्त्री पौडेलले भन्नुभयो, ‘गुणस्तरीय सडक पूर्वाधार बिना हामीले हामीले जस्तोसुकै प्रदर्शनीको पनि सही सदुपयोग हुन सक्दैन । त्यसकारणले अहिले सरकारले गुणस्तरीय सडक पूर्वाधारलाई महत्व दिएको छ । हामीसँग पूर्व—पश्चिम राजमार्ग छँदै थियो । तर त्यो पूर्व—पश्चिम राजमार्गले हाम्रो चित्त बुझेन । हाम्रो आवश्यकता सम्बोधन गरेन । त्यसअर्थ हामीले त्यसलाई स्तरोन्नति गर्दैछौँ ।

झापाको काँकडभित्तादेखि कञ्चपुरसम्म हामीले सडक स्तरोन्नति गर्दैछौँ । विभिन्न ठाउँमा काम शुरु भइरहेको छ । हामीले हुलाकी सडक लामो समयदेखि प्रतिक्षा गरिएको सडकको कामलाई निर्माण गरिरहेका छौँ । हामीले मध्यपहाडी लोकमार्ग, पुष्पलाल लोकमार्ग निर्माण गर्दैछौँ ।

त्यो लोकमार्ग पनि औषत स्तरको होइन, साँच्चिकै मध्यपहाडको यातायातको विकास गर्ने दृष्टिकोणले महत्व राख्ने सडकका रुमपा विकास गर्दैछौँ । शहरी पूर्वाधारहरुमा पनि हाम्रो त्यत्तिकै ध्यान गएको छ । शहरी पूर्वाधार, शहरमा धुलो र हिलो रहित सडक बनाउँछौँ । एउटा यस्तो समय थियो, सडकमा निस्किएपछि त्यहाँ कि त धुलो हुन्छ, कि त हिलो हुन्छ ।

धुलो बिनाको सडक, हिलो बिनाको सडक हुन्छ भनेर नेपालीले आफ्नो आँगनमा देख्न नपाउने अवस्था थियो । अब हामी सडक पूर्वाधारको सन्दर्भमा धुलोरहित र हिलो रहित सडकको परिकल्पना मात्रै गरिरहेका छैनौँ, त्यसलाई व्यवहारिक रुमपा सार्थक तुल्याउँदै छौँ । सडक निर्माणको सिलसिलामा गुणस्तरमा पनि जोड दिइरहेका छौँ ।’

उपप्रधानमन्त्री पौडेलले पौडेलले सडक पूर्वाधार सरकारको प्राथमिकताको विषयमा रहेको बताउनु भयो । तीन वर्षभित्र सरकारले उच्च प्राथमिकताका साथ भृकुटीमण्डपमा अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी स्थल निर्माण गर्ने बताउनु भयो ।

टुकुचादेखि पश्चिमको भूभागमा रहेका संरचनाहरु भत्काएर अत्याधुनिक, व्यवस्थित र आकर्षक प्रदर्शनी स्थल बन्ने बताउनु भयो ।