
आइतवार , चैत्र २९, २०७७
बुटवल, २९ चैत ।
लुम्बिनी प्रदेश सरकारका आन्तरिक तथा कानुन मन्त्री कुल प्रसाद केसीले प्रदेश सरकार छिट्टै परिवर्तन हुने बताए । उनले केन्द्रको राजनीति प्रदेशमा स्वभाविक रुपमा पर्ने भएकाले प्रदेश सरकार पनि परिवर्तन हुने बताए।
आइतबार बुटवलमा रिपोटर्स क्लव नेपाल लुम्बिनी प्रदेशले आयोजना गरेको पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्री केसीले केन्द्रिय राजनीति प्रदेशमा पनि हावी भएकाले प्रदेश सरकार परिवर्तन हुन सक्ने जिकिर गरे । प्रदेशमा राजनीति छलफल विधि र विधान भित्र बसेर भएकोले छिट्टै निकास निस्कने बताए ।
उनले संघीयता आए पनि प्रदेश र स्थानीय तहलाई व्यवहारिक रुपमा अधिकार संघीय सरकारले नदिएको गुनासो गर्दै केन्द्रिय राजनीति तल्लो तहसम्म हावी रहेको दावी गरे ।
उनले अहंकार र दम्भले कोही अगाडि नबढ्ने भन्दै अहिले मुलुकमा देखिएको समस्या नै त्यसैको प्रतिफल भएको बताए ।
प्रदेशमा मिडियाका समस्या समाधानका लागी तीन प्रकारले वर्गीकरण गरेर काम गर्ने योजना रहेको उल्लेख गर्दै व्यवसायिक पत्रकारिता, सामुदायिक संचार र पत्रकार सम्बद्ध संघ–संस्थाहरुलाई छुट्टाएर काम गर्ने तयारी भइरहेको जानकारी दिए ।
मुलुकको यो अस्थिर अवस्थामा मिडियाको अहम भुमिका रहेको बताउँदै नवनिर्वाचित पदाधकारीहरुलाई जिम्मेवार भएर अगाडि बढ्न आग्रह गरे ।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिव विक्रम खड्काले प्रदेश सरकारसंग सहकार्य गरेर पत्रकारका मुद्दाहरुलाई समाधान गर्ने बताए । प्रदेश सरकारको गुरुयोजना भित्र पत्रकार महासंघको भवन निर्माण गर्न पहल गर्ने बताए ।
त्यस्तै पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल पत्रकार सबैको जीत भएकोले सबैले अपनत्व हुने गरी पत्रकार महासंघ अघि बढ्ने बताए ।
पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष अमृता अनमोलले सबै पत्रकारको क्षमता वृद्धि गर्न विशेष पहल गर्ने बताइन् ।
कार्यक्रम क्लबका अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षता तथा तेजेन्द्र केसीको संचालनमा भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij