
बुधवार , श्रावण २१, २०८२
काठमाडौं, २१ साउन । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुलाई अतार्किक अडान, आवेग र अराजक शैलीबाट मुक्त हुन सुझाव दिनुभएको छ ।
प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै महामन्त्री शर्माले यस्तो सुझाव दिनुभएको हो । उहाँले भिजिट भिसा प्रकरणको विषयलाई आवेगमा आएर नहेर्न समेत आग्रह गर्नुभयो । महामन्त्री शर्माले भिजिट भिसामा सबैभन्दा बढी गृहमन्त्री रवि लामिछानेको पालमा गएको उल्लेख गर्दै विजीकै पालमा सबैभन्दा बढी मानव तस्करी भएको भन्ने तपाईहरुको निष्कर्ष हो ? भन्दै प्रश्न समेत गर्नुभयो ।
उहाँले मानव तस्करीको विषयमा प्रश्न उठाउँदा रास्वपाले नै छानेको उपसभामुख इन्दिरा राना मगरको विषय समेत कोट्याउनु भयो । उहाँले भिजिट भिसाको विषयमा छानविन भइरहेको भएपनि रास्वपाका नेताहरुकै अडानका कारण उपसभामुखको फाइल पेण्डिङमा गएको आरोप लगाउनु भयो ।
उहाँले भन्नुभयो, ‘तपाईहरुकै सभापति रविजी गृहमन्त्री भएको समयमा भिजिट भिसामा बाहिर धेरै मानिसहरु गएका छन् । तपाईहरुले संसद बहिस्कार गर्दै गर्दा रविजीकै पालमा सबैभन्दा बढी मानव तस्करी भएको भन्ने तपाईहरुको निष्कर्ष हो ? म सोध्न चाहान्छु । त्यसैले आवेगमा आएर विषयवस्तुलाई नहेरौँ ।
रास्वपालाई मेरो सुझाव छ । नयाँ दल, अनुभवले खारिन बाँकी छ त्यसकारण तपाईहरु तीनवटा ‘अ’बाट मुक्त हुनुस् । अतार्किक अडानबाट, आवेगबाट र अराजक शैलीबाट ।’
गृहमन्त्रीको नैतिकतामा प्रश्न उठाने नेताहरु उपसभामुखको नैतिकतामा प्रश्न उठाउनु पर्दैन ? उहाँको प्रश्न छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij