
बुधवार , श्रावण २१, २०८२
काठमाडौं, २१ साउन । नेकपा (एमाले) का सांसद गोकुल बाँस्कोटाले संविधान संशोधनको विषय कहाँ पुग्यो ? भन्दै प्रश्न गर्नुभएको छ ।
प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै सांसद बाँस्कोटाले वर्तमान सकारले केही सकारात्मक काम गरेको भएपनि संविधान संशोधनको प्रक्रिया अगाडि नबढाएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो ।
उहाँले अहिले दलहरुले केही गर्न नसकेको भन्ने भाष्य स्थापित गरेर लोकतान्त्रिक व्यवस्थालाई कमजोर बनाउन खोजिएकोप्रति सबै सचेत हुन आवश्यक रहेको बताउनु भयो । बाँस्कोटा संविधान संशोधनप्रति गरिएको प्रतिवद्धता अझै कार्यान्वयन नहुँदा सार्वजनिक रुपमा सरकारमाथि प्रश्न उठिरहेको बताउनु भयो।
उहाँले भन्नुभयो, ‘यो समिकरणले केही कुराहरु उठाएको थियो । तर भन्नुपर्छ–संविधान संशोधनको विषय कहाँ पुग्यो ? त्यो विषय अब अगाडि आउनुपर्छ । र हामीले आफूले आफूलाई पनि समिक्षा गर्नुपर्छ । सुधार्ने ठाउँहरुमा सुधार गर्न तयार हुनुपर्छ । सुध्रिनुपर्ने ठाउँमा सुध्रिनका लागि पनि तयार हुनुपर्छ । अहिले एउटा भाष्य निर्माण गर्न खोँजिदै छ ।
यो व्यवस्थालाई कमजोर बनाउनको निम्ति कसैले केही गरेन भन्ने जुन भाष्य निर्माण गर्न खोँजिदै छ । यो लोकतान्त्रिक संस्थाहरुलाई कमजोर बनाउने कुरा हो । पंगु बनाउने कुरा हो । अरुलाई दोष थुपारेर आफू उम्किने कुरा पनि हो । लोकतान्त्रिक अभ्यासलाई अझै सुदृढ र गतिशील बनाउनुपर्छ ।’
उहाँले लोकतान्त्रिक अभ्यासलाई अझ सुदृढ र गतिशील बनाउन सबै राजनीतिक शक्ति गम्भीर भएर लाग्नुपर्ने आवश्यकता औंल्याउनु भयो । उहाँले नयाँ राजनीतिक दलहरु लोकप्रियतावादमा लागेको आरो लगाउनु भयो । उहाँले संसद बहिस्कार गरेर व्यवस्था कमजोर बनाउनुभन्दा सुदृढ बनाउन भुमिका खेल्न समेत आग्रह गर्नुभयो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij