२०८२, श्रावण २३ गते

Aug 08 2025 | २०८२, श्रावण २३ गते

राजनीति ठीक नभएसम्म अरु कुनै नीति पनि ठीक हुन सक्दैनन् : पूर्ण बस्नेत

शुक्रवार , श्रावण २३, २०८२

काठमाडौं, २३ साउन । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले सरकारको नेतृत्वले मुलुकलाई धराशायी बनाउँदै लगेको आरोप लगाउनुभएको छ । उहाँले सरकारले मुलुकलाई सही मार्गनिर्देश गर्न नसकेको भन्दै बस्नेतले सरकारको नेतृत्वप्रति टिप्पणी गर्नुभएको छ ।

बस्नेतले भन्नुभयो, ‘यो मुलुकमा सरकार जनतामाथि शासन, शोषण र दमन गर्नका लागि मात्र बनाइएको हो जस्तो लाग्छ । सरकार बेलगाम छ । जनतामाथि काँडेतार र अकुंश लगाउन तथा मुलुकलाई कमजोर बनाउन सरकारले कुनै कसर बाँकी राख्ला जस्तो छैन ।’

बस्नेतले मुलुकको मुख्य राजनीतिक दलको नेतृत्वले पञ्चायतकालीन पृष्ठभूमि र दृष्टिकोण बोकेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था अपनाएका छौँ । जनताको चेतना र आकांक्षा २१ ऋौं शताब्दीको छ । विश्व एआईको दुनियाँमा प्रवेश गरेको छ । तर हाम्रो राजनीतिक नेतृत्वको सोच, विचार र संस्कार शुद्ध सामन्तवादी छ ।’

सत्तारुढ दल आफ्नो कार्यकाल अवधिमा जनताका काममा ध्यान दिनुको सट्टा मिसन २०८४ भन्दै जनतामाथि घात गरिरहेको उहाँको दावी छ । उहाँले भन्नुभयो, ‘चुनावमा जितेर सरकारमा जाने र सरकारमा गएर चुनाव जित्ने मुलुकका मुख्य राजनीतिक दलहरुको आजसम्मको एकमात्र उद्देश्य बन्यो ।’

राजनीतिक प्रणाली, ठीक राजनीतिक नेतृत्व र समग्र राजनीति ठीक नभएसम्म अरु कुनै नीति पनि ठीक हुन नसक्ने उहाँको भनाइ छ ।