२०८२, श्रावण २३ गते

Aug 08 2025 | २०८२, श्रावण २३ गते

कारागार प्रशासक भन्छन् : रास्वपा सभापति लामिछानेमाथि कुनै फरक व्यवहार भएको छैन् (विज्ञप्तीसहित)

शुक्रवार , श्रावण २३, २०८२

भैरहवा, २३ साउन । जिल्ला कारागार कार्यालय भैरहवाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि कुनै किसिमको मानव अधिकार हनन नभएको बताएको छ । पछिल्लो समय विभिन्न मिडियामा आएका समाचारको खण्डन गर्दै कारागार प्रशासनले रास्वपा सभापति लामिछानेप्रति कुनै फरक व्यवहार नगरिएको बताएको छ । 

कारागार प्रशासक सुरेश भण्डारीले कारागारमा रहेका अन्य कैदीबन्दी सरह पूर्वउपप्रधान तथा गृहमन्त्री समेत रहनुभएका लामिछानेलाई व्यवहार गरिएको बताउनुभयो । 

Karagar Bigapti.jpg
कारागार प्रशासनले निकालेको विज्ञप्ती

प्रशासक भण्डारीले लामिछानेको सुरक्षालाई ध्यानमा राखेर छुट्टै कोठाको व्यवस्था गरिएको बताउनुभयो । उहाँले कारागार प्रशासनले समयसमयमा लामिछानेलाई भेट गरी समस्या तथा आवश्यकताका सम्बन्धमा सोधपुछ गर्ने गरेको र देखिएका समस्या समाधानसमेत गरेको जानकारी दिनुभयो । 

कारागार प्रशासनका अनुसार रास्वपा सभापति लामिछानेले चाहेको खण्डमा भेट्न खोजेका व्यक्तिलाई भेट गर्न दिनुका साथै सञ्चार उपकरण प्रयोग गर्ने वातावरण मिलाएको छ । कारागार प्रशासनले एक विज्ञप्ती जारी गर्दै अन्य सामान्य कैदीबन्दीले पाउने सेवासुविधा र लामिछानेले पाउने सेवासुविधामा कुनै फरक नभएको जनाएको छ । 

कारागार प्रशासक भण्डारीले कारागारभित्र कुनै पनि भीआईपी सुविधा नभएको बताउँदै लामिछानेलाई कुनै भीआईपी सुविधा नदिइएको बताउनुभयो । 

सहकारी ठगी र संगठित अपराधको अभियोगमा पूर्पक्षका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विगत चार महिनादेखि जिल्ला कारागार कार्यालय भैरहवामा रहनुभएको छ । लामिछानेलाई कारागार प्रशासनले ‘४ नम्बर ब्लक’ मा राखेको छ ।