२०८२, श्रावण २५ गते

Aug 10 2025 | २०८२, श्रावण २५ गते

रुपन्देही–३ उपनिर्वाचन : तयारीमा जुट्दै दलहरु

आइतवार , श्रावण २५, २०८२

भैरहवा, २५ साउन । आगामी कार्तिक १७ गते रुपन्देही क्षेत्र नम्बर ३ मा हुने उपनिर्वाचनका लागि राजनीतिक दलहरु तयारीमा जुटेका छन् । सत्तारुढ नेपाली काँग्रेस र नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राप्रपा, संयुक्त लोकतान्धिक मोर्चा लगायतका अन्य दलहरु तयारीमा जुटेका हुन् ।

२०७९ सालको निर्वाचनमा नेकपा (एमाले) र जनता समाजवादी पार्टी (जसपा),  समर्थनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता दीपक बोहरा निर्वाचित हुनुभएको थियो । कांग्रेसको नेतृत्वमा नेकपा (माओवादी केन्द्र), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सहित पाँच दलको गठबन्धन थियो ।

निर्वाचनको माहोल तातिदै गए पनि दलहरुले आधिकारिक रुपमा उम्मेदवार चयन गर्न सकेका छैनन् । दलकोतर्फबाट राष्ट्रिय जनमोर्चाले मात्रै उम्मेदवार चयन गरेको छ । उक्त पार्टीले बद्रे आलमलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

सतारुढ नेपाली काँग्रेसले हालसम्म औपचारिक रूपमा उम्मेदवार चयनका लागि सिफारिस समेत गरेको छैन् । तर, कांग्रेसभित्र प्रमोद कुमार यादव, रामचन्द्र ढकाल लगायतका नेताहरू आकांक्षीका रूपमा चर्चामा हुनुहुन्छ ।

सरकारको नेतृत्व गरिरहेको एमालेबाट उम्मेदवारका लागि चारजना आकांक्षी देखिएका छन् । शुक्रबार भैरहवामा बसेको एमाले क्षेत्रीय समन्वय कमिटीको तेस्रो बैठकमा चार नेताले आकांक्षा देखाएका हुन् ।

बैठकमा पार्टीका पोलिटब्यूरो सदस्य तथा पूर्व राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराई, नेता एवं व्यवसायी शशि पौडेल, सिद्धार्थनगर नगरपालिकाका पूर्व नगरप्रमुख (मेयर) हरि प्रसाद अधिकारी र नेता यज्ञजित शाहले उम्मेदवार बन्ने औपचारिक रुपमा आकांक्षा व्यक्त गरेको पार्टीले जनाएको छ ।

एमाले केन्द्रले एक महिलासहित तीनजनाको नाम सिफारिस गर्न भनेको छ । तर, एमालेबाट महिलाहरुले उम्मेदवार बन्न अझै आकांक्षा देखाएका छैनन् । एमाले रुपन्देहीले केही दिनमै उम्मेदवारहरुको नाम केन्द्रमा सिफारिस गर्ने तयारी गरेको जनाएको छ ।

उपनिर्वाचनका लागि एमाले केन्द्रले भदौ १५ गते भित्र उम्मेदवारका आकांक्षीहरूको नाम पठाउन समयसीमा तोकेको छ । पार्टी केन्द्रीय कमिटी बैठकले एक महिलासहित तीनजनाको नाम सिफारिस गरेर पठाउन निर्देशन दिएकोले दुईजना पुरुष र एक जना महिलाको नाम पठाइने पार्टीको जिल्ला अध्यक्ष यज्ञ गैरेले जानकारी दिनुभयो ।

प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) पनि उपनिर्वाचनको तयारीमा जुटेको छ । हालै बसेको पार्टीको सिद्धार्थनगर कमिटी र यसअघि सम्पन्न क्षेत्रीय कमिटी बैठकमा उपनिर्वाचन सम्बन्धी छलफल भएको माओवादी केन्द्र लुम्बिनी प्रदेश सचिवालय सदस्य तीर बहादुर रोकाय (डार्बिन) ले जानकारी दिनुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवार बन्न ९ जनाले आवेदन दिएका छन् । रास्वपाले सामाजिक सञ्जाल फेसबुक पेजबाट लाईभमार्फत आवेदकहरूको सूची सार्वजनिक गरेको हो । आवेदन दिनेमा सुलभ खरेल, पार्थिवेन्द्र उपाध्याय, डा. लेखजंग थापा, ज्ञानु पौड्याल, जीतबहादुर गुप्ता, कुसुम महर्जन, रचना क्षेत्री, पुनमकुमारी अग्रवाल र मधु प्रसाद अर्याल रहनुभएको छ । रास्वपाले उपनिर्वाचनलाई प्रतिष्ठाको विषय बनाएको छ । 

२०७९ सालको निर्वाचनमा यो क्षेत्रमा जितेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ६ जनाको नाम सिफारिस गरेको छ । राप्रपा जिल्ला कार्यसम्पादन समितिको बैठकले पार्टीका केन्द्रीय सदस्यद्वय बसन्त विक्रम शाही, स्वाती थापा, रुपन्देही जिल्ला अध्यक्ष सागर प्रताप राणा, स्व. दीपक बोहराका छोराहरु क्याप्टेन गौरव बोहरा, इञ्जिनियर प्रज्ज्वल बोहरा र जिल्ला प्रवक्ता दिलिप कुमार मल्लिकको नाम सिफारिस गरेको हो ।

६ दल सम्मिलित संघीय लोकतान्त्रिक मोर्चाले नागरिक उन्मुक्ति पार्टीका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेका छन् । मोर्चामा हाल जसपा नेपाल, लोसपा नेपाल, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय मुक्ति पार्टी, जनता प्रगतिशील पार्टी र तमलोपा रहेका छन् ।

हालै मोर्चाले सियारीमा गरेको जनजागरण अभियानमा नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले पार्टीबाट स्थानीय उम्मेदवार उठाउने बताउनुभयो ।

यस अघि डा. सि.के. नेतृत्वको जनमत पार्टी मोर्चामा रहे पनि जनमत पार्टीले आफ्नै पार्टीबाट उम्मेदवार उठाउने पार्टीका सचिव भोपेन्द्र प्रसाद यादवले बताउनुभयो ।

अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी, नेपालबाट महेन्द्र यादव, मोहम्मद अली र असलम खान उम्मेदवार बन्ने चर्चा छ । साउन भित्रै उम्मेदवार छनौट गरिने पार्टीको रुपन्देही जिल्ला इञ्चार्ज मोहम्मद अलीले जानकारी दिनुभयो ।

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) पनि उपनिर्वाचनको तयारीमा जुटेको छ ।

राष्ट्रिय जनमुक्ति पार्टीले पनि उपनिर्वाचनको तयारी थालेको छ । पार्टी भित्र आन्तरिक तयारी सुरु भइसकेको पार्टीका संघीय परिषद् सचिव मोजीब अलीले बताउनुभयो । अघिल्लो निर्वाचनमा पनि यो पार्टीले मोजीब अलीलाई उम्मेदवारको रुपमा अघि सारे पनि पछि काँग्रेसका उम्मेदवार तथा तत्कालिन गृहमन्त्री बालकृष्ण खाणलाई समर्थन गरेको थियो ।

त्यस्तै स्वतन्त्र उम्मेदवारका रूपमा तीनजनाले पत्रकार सम्मेलन मार्फत उम्मेदवारी घोषणा गरेका छन् । राप्रपा परित्याग गर्नुभएका भैरहवाका उद्योगी अजय कुमार गुप्ताले स्वतन्त्र उम्मेदवार बन्ने घोषणा गरिसक्नुभएको छ । बुटवल–१९, मोतीपुरका युवा लेखनाथ गैरेले पनि स्वतन्त्र उम्मेदवार बन्ने घोषणा गर्नु भएको छ । फिल्ममेकर तथा लेखक किरण वि.क.ले उम्मेदवारी घोषणा गर्नुभएको छ । काठमाडौंमा पत्रकार सम्मेलन गरी उहाँले स्वतन्त्र उम्मेदवारी घोषणा गर्नुभएको हो ।

औपचारिक रुपमा उम्मेदवारी घोषणा नगरे पनि स्वतन्त्र उम्मेदवार बन्ने उद्देश्य सहित मतदाताको घरदैलोमा सन्तोष गिरी पुग्नुभएको छ ।

काठमाडौ महानगरपालिकाका प्रमुख बालेन शाहका सल्लाहकार समेत भइसक्नु भएका गिरी उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने तयारीमा रहेको बताउनुभयो ।

२०७९ साल मंसिर ४ गते रुपन्देही–३ मा भएको निर्वाचनमा एमालेको समर्थनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार दीपक  बोहरा विजयी हुनुभएको थियो । तत्कालिन गृहमन्त्री बालकृष्ण खाणलाई पराजितगर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित बोहराले ३६ हजार ७ सय १७ मत ल्याउनुभएको थियो । नेपाली कांग्रेसको तर्फबाट चुनाव लड्नुभएका बालकृष्ण खाणले ३४ हजार ३६ मत प्राप्त गर्नुभएको थियो ।

सांसद बोहराको २०८१ चैत १९ गते निधन भएपछि उक्त पद रिक्त भएको छ । रिक्त पदमा निर्वाचन हुन लागेको हो । २०७९ सालको निर्वाचनमा रुपन्देही–३ मा समानुपातिकतर्फ नेपाली कांग्रेसले २० हजार २ सय ७८ मत पाएको थियो । त्यस्तै एमालेले १६ हजार ९ सय ८६ मत पाउँदा रास्वपाको १४ हजार १ सय ५४ मत खसको थियो । प्रत्यक्षतर्फ प्रतिनिधि सभा सदस्यमा जितेको राप्रपाले भने समानुपातिकमा ९ हजार १ सय ८३ मत पाएको थियो । रुपन्देही–३ मा १ लाख ३९ हजार ७ सय ६४ मतदाता छन् ।