२०८२, श्रावण २७ गते

Aug 12 2025 | २०८२, श्रावण २७ गते

रास्वपा संसदमा प्रवेश गरेसँगै सदन हेर्न र सुन्नलायक भएको छ : डोलप्रसाद अर्याल

मंगलवार , श्रावण २७, २०८२

काठमाडौं, २७ साउन । राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले नीति नियमहरु आधुनिक पुस्तालाई लक्षित गरेर बनाउनुपर्ने बताउनुभएको छ ।

मंगलवार पार्टीको युवा विभागले ललितपुरमा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अघिल्लो पुस्ताको लागि नभइ अब बन्ने नीतिहरु आधुनिक पुस्ताको लागि हुनुपर्ने बताउनु भयो ।

उहाँले संघीयता र संविधानको कार्यान्वयनका लागि आगामी पुस्तालाई हेरेर बौद्धिक नक्शा कोर्नुपर्ने बताउनु भयो । राजनीतिक वृत्तमा पनि अब युवा पुस्ता अपरिहार्य भएको उल्लेख गर्नुभयो । रास्वपा संसदमा प्रवेश गरेसँगै सदन अहिले सुन्न, हेर्न लायक भएको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘बितेर जाँदै गरेको म र म भन्दा अघिल्लो पुस्ताको लागि भन्दा पनि आधुनिक पुस्ताको लागि हामीले नीति बनाउनुपर्नेछ । संघीयता आएको छ, नयाँ संविधान देशमा बनेको छ भने यसलाई कार्यान्वयन गर्ने बाटोमा जान आगामी पुस्तालाई हेरेर बौद्धिक नक्शा यस्तो कोर्नुप¥यो की देश निर्माणको लागि ५० वर्षको नक्शा कोर्नुपर्छ ।

जुन नक्शामा टेकेर देश निर्माण हुनसक्छ, युवापुस्ता यहीँ बस्न सक्छ । राजनीतिक वृत्तमा पनि अब युवा पुस्ता अपरिहार्य भएको हामीले देखेका छौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो व्याख्या गरेको जस्तो लाग्ला तर हामीले रास्वपाको व्याख्या गर्न लागेको होइन । सदन अहिले सुन्न, हेर्न लायक भएको भनेर स्वदेशमा मात्रै होइन, विदेशमा बस्ने मानिसहरुले पनि भनिरहेको अवस्था छ । यसको अर्थ सबैजना रास्वपा नै हुनुपर्छ, यो नै अन्तिम हो भन्ने होइन ।’

कार्यवाहक सभापति अर्यालले राजनीतिमा लाग्नुपर्छ भन्नेकुरा आफ्ना व्रह्मले भनेपछि मात्रै रास्वपामा प्रवेश गर्न आग्रह गर्नुभयो ।