२०८२, श्रावण २८ गते

Aug 13 2025 | २०८२, श्रावण २८ गते

जसपा सांसद झाको प्रश्न : कारागारभित्र हातहतियार कसरी जान्छ ?

बुधवार , श्रावण २८, २०८२

काठमाडौं, २८ साउन । जनता समाजवादी पार्टीकी सांसद रञ्जुकुमारी झाले कारागारभित्र हातहतियार, मादक पदार्थ कसरी जान्छ ? भन्दै प्रश्न उठाउनुभएको छ ।

बुधवार बसेको कानुन न्याय तथा मानवअधिकार समितको बैठकमा उहाँले गृहमन्त्री रमेश लेखकलाई यस्तो प्रश्न गर्नुभएको हो । कारागार सुरक्षाका लागी जेलर, सुरक्षा दिने निकाय हुँदाहुँदै पनि कारागारभित्र अवैध कारोवार भइरहेको उहाँको भनाई छ । कारगारभित्र खुलेआम रुपमा पैसाको लेनदेन, मादकपदार्थको विक्री वितरणका साथै हातहतियार समेत प्रवेश गर्नु गम्भिर भएको उहाँले बताउनु भयो । उहाँले यसतर्फ गृहमन्त्रालयको ध्यानाकर्षण समेत गराउनुभएको छ । 

उहाँले भन्नुभयो, ‘कारागारभित्र हातहतियार कसरी जान्छ ? कारागारभित्र मादक पदार्थ कसरी जान्छ ? कारागार भित्र हामी सुरक्षा गर्नलाई कारागारमा जेलरको व्यवस्था गरेका छौँ । सुरक्षा दिने निकाय छ, हामीसँग । प्रशासन छ, हामीसँग । तर भित्र चाँही पैसाको लेनदेन, मादक पदार्थको विक्री वितरण । त्यसपछि हातहतियार समेत पुगेको अवस्था । कसरी हुन्छ, यतातिर मन्त्रालयलाई गम्भिर हुन म आग्रह गर्न चाहन्छु ।’ 

उहाँले कारागारमा चौकीदार, नाईके, भाईनाईके जस्तो नेतृत्वमा पुग्नको लागी हिसांत्मक घटना हुने गरेको बताउनु भयो । यस्तै उहाँले क्षमताभन्दा बढी कैदीबन्दी राख्दा पनि कारागारमा समस्या आउने गरेको बताउनु भयो । ७२ जिल्लामा ७५ वटा कारागार रहेको उल्लेख गर्दै उहाँले भक्तपुर, धनुषा, बारा, पुवी नवलपरासी र पुर्वी रुकुम गरी पाँच वटा जिल्लामा अझै कारगार नरहेको उल्लेख गर्नुभयो ।