२०८२, श्रावण २९ गते

Aug 14 2025 | २०८२, श्रावण २९ गते

अब विदेशी नागरिकलाई पनि सरकारी नियुक्ति दिऊँ : महत

बिहिवार , श्रावण २९, २०८२

काठमाडौं, २९ साउन । पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले अब विदेशी नागरिकलाई पनि सरकारी नियुक्ति  दिनुपर्ने बताउनुभएको छ ।

उहाँले विदेशी नागरिक वा पिआर लिएर विदेशमा बसेको नेपाली नेपालमै आएर नेतृत्व सम्हालन खोज्छ भने त्यस्तालाई सरकारले नियुक्ती गर्नुपर्ने बताउनु भयो । आज संसदको अर्थसमितिमा वैकल्पिक विकास वित्त परिचालनसम्बन्धमा बनेको विधेयकमाथिको छलफलमा भाग लिँदै उहाँले विदेशमा पनि विदेशीहरुले नै कम्पनीहरुको नेतृत्व गर्ने गरेको र त्यसबाट ती कम्पनीहरु सबल हुने गरेको बताउनु भयो ।

नेपालमा अनेक बहानामा विदेशीहरुसहित त्यहाँ रहेका नेपालीहरुलाई बन्देज लगाउन खोजिनु उचित नभएको उहाँको भनाइ छ । सांसद महतकाअनुसार वाणिज्य बैंक र नेपाल बैंक घाटामा गएपछि व्यवथापनका लागि करारमा विदेशीहरु आएर त्यसलाई ट्रयाकमा ल्याएका थिए । त्यसपछि नेपालीहरुले नै चलाए । त्यसरी नै सरकारी निकायहरुमा विदेशीहरु भित्र्याएर कम्पनीहरुलाई माथि उठाउन सकिने उहाँको भनाई छ ।

पूर्वअर्थमन्त्री महतले भन्नुभयो– ‘नीतिगत निर्णय भएपछि सिइओले कार्यान्वयनमा लैजाने हो । अमेरिका, युरोपमा ट्रिलियन डलरका  कम्पनीहरु बाहिरको मान्छेले चलाइरहेका हुन्छन्, इण्डियनहरुले चलाइरहेको छ । योग्य हेर्ने हो, जिम्मेवारीअनुसार काम गरे, नगरेको बोर्डले हेर्ने हो नि ।

सीईओले दायाँबाँया गर्ने बित्तिकै आउट गर्ने अधिकार बोर्डलाई भइहाल्छ । त्यसैले हामीले अहिले नयाँ कन्सेप्टमा वैकल्पिक वित्त कोषलाई अघि बढाउन खोज्दैछौं । हामी नयाँ प्रवन्ध गर्न खोजिरहेका छौँ ।’ 

महतले वैकल्पिक वित्त कोष व्यवस्थापन गर्नका लागि नियुक्त हुने सिइओ, देश विदेश बुझेको हुनुपर्ने बताउनु भयो । उहाँकाअनुसार वित्त कोषको सीईओको सबालमा ग्रिन कार्ड लिएको, नलिएको, विदेशी नागरिक हो वा होइन, त्यो पनि हेर्नुहुँदैन । नेपाली पनि हुनसक्छ, विदेशमा बसेको ग्रीन कार्ड होल्डर पनि हुनसक्छ, त्यस्ता सबैलाई स्वीकार्न उहाँले प्रश्ताव गर्नुभयो ।