
मंगलवार , चैत्र ३१, २०७७
भैरहवा, ३१ चैत ।
नेपाल भारत–बीचको सम्बन्धलाई थप सुमधुर बनाउनुपर्नेमा एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । उनीहरुले मित्र राष्ट्रसंग मिलेर अगाडी बढ्नुपर्नेमा जोड दिए । नेपाल–भारत मानव विकास एवं मैत्री संघले मंगलबार भैरहवामा आयोजना गरेको वर्तमान सन्दर्भमा नेपाल–भारत सम्बन्ध विषयक विचार गोष्ठीमा बोल्ने वक्ताहरुले दुई देशबीच धार्मिक तथा पारिवारिक सम्बन्ध रहेको बताए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाली कांग्रेस रुपन्देहीका सभापति एवं पूर्व खानेपानी तथा सरसफाई राज्यमन्त्री अब्दुल रज्जाकले कसैले चाहेर नेपाल–भारतबीचको ऐतिहासिक सम्बन्धलाई बिगार्न नसक्ने बताए । उनले दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाएर मुलुकमा राजनीतिक स्थिरता कायम गर्नुपर्ने बताए । ‘सस्तो लोकप्रियताका लागि भारतलाई गाली गरेर राष्ट्रवादी भइन्छ भन्ने मानसिकता छ, तर कुनै राजनीतिक दल वा व्यक्तिले चाहेर दुई देशबीचको सम्बन्ध बिगार्न सक्दैन, ’रज्जाकले भने । राजनीतिक रुपमा भ्रम सिर्जना गरिएको उनको भनाइ थियो । संविधान कार्यान्यवन गर्न यसलाई संसोधन गर्दै जानुपर्ने र संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै जानुपर्नेमा रज्जाकले जोड दिए ।
नेपाल-भारत मानव विकास एवं मैत्री संघका केन्द्रीय अध्यक्ष सुर्य भुसालले विकासको सवालमा दुवै देशले साझा एजेण्डा बनाएर अघि बढ्नुपर्नेमा जोड दिए । उनले नेपाल–भारतबीचको सम्बन्ध सम्बन्ध बलियो बनाउन सबैले आ–आफ्नो क्षेत्रबाट भूमिका खेल्नुपर्ने बताए । दुई देशबीच तिक्तता हटाउनुपर्ने उनको भनाइ थियो ।
नेपाल-भारत मानव विकास एवं मैत्री संघ लुम्बिनी प्रदेशका संयोजक टेक बहादुर थापाले सकारात्मक ढंगबाट अघि बढ्नुपर्नेमा जोड दिए । उनले नेपाल–भारतबीचको सम्बन्धलाई रुपान्तरित अवस्थामा लैजानुपर्ने बताए ।
राष्ट्रिय युवा परिषदका सदस्य बाबुराम बञ्जाडेले छिमेकी मुलुकसंग सुमधुर सम्बन्ध स्थापित गर्नुपर्ने बताए । सन्तराम चौधरीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij