
शनिवार , श्रावण ३१, २०८२
भैरहवा, ३१ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई ललितपुरको नख्खु कारागार लगिएको छ । लामिछानेलाई दिउँसो ३ बजेर ५१ मिनेटमा भैरहवा कारागारबाट बाहिर निकालिएको थियो ।
३ बजेर ५१ मिनेटमा कारागारबाट एयरपोर्ट लगिएका लामिछानेलाई पौने ५ बजेमात्रै बुद्ध एयरबाट काठमाडौं उडाइएको रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रदीप बहादुर क्षेत्रीले जानकारी दिनुभयो ।लामिछानेलाई बुद्ध एयरबाट काठमाण्डौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हँुदै ललितपुरको नख्खु कारागार लगिएको हो ।
बुटवलको सुप्रीम वचत तथा ऋण सहकारी सस्था लिमिटेडको सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि लामिछाने गत चैत २५ देखि रुपन्देही कारागारमा रहनुभएको थियो । उहाँले गत जेठ १४ गते नख्खु कारागारमा सरुवाका लागि रुपन्देही जिल्ला अदालतमा निवेदन दिनुभएको थियो । उहाँको निवेदनपछि अदालतले जेठ १६ मा अड्डासारका लागि अनुमति दिए पनि गृह प्रशासनले सुरक्षाको कारण देखाउँदै रोकेको थियो ।
गृह प्रशासनले कारागार अड्डासार रोकेपछि रास्वपाले संसदमा विरोध जनाउँदै आएको छ । लामिछानेको कारागार बसाईका विषयमा विभिन्न दलका नेता तथा राष्ट्रिय मानव अधिकार आयोगको टोलीले समेत लामिछानेले बसाई कठिनाईपूर्ण रहेको प्रतिक्रिया दिएका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij