२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

कर्णाली प्रदेशमा नयाँ सरकार बनाउने कसरत

प्रदेशसभाको सातौँ हिउँदे अधिवेशन आगामी वैशाख ३ गते आह्वान

मंगलवार , चैत्र ३१, २०७७

काठमाडौं, ३१ चैत ।

लामो समयको रस्साकस्सीपछि कर्णाली प्रदेश सभाको सातौँ (हिउँदे) अधिवेशन आगामी वैशाख ३ गते आह्वान गरिएको छ। यसका साथै कर्णालीमा नयाँ सरकार बनाउने कसरत पनि सुरु भएको छ । 

प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम आगामी वैशाख ३ गते दिउँसो २ बजे कर्णाली प्रदेश सभाको हिउदे अधिवेशन आह्वान गरेका हुन् ।

यसअघि कर्णाली प्रदेशसभाको ठूलो दल नेकपा एमालेले नेकपा माओवादी केन्द्र नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ । एमाले संसदीय दलको बैठकले चैत ५ गतेदेखि लागू हुने गरी माओवादी केन्द्रका नेता महेन्द्रबहादुर शाहीलाई यसअघि दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । 

नयाँ सरकार गठन गर्ने कसरतका साथ एमालेले समर्थन फिर्ता लिएसँगै सो दलबाट सरकारमा सहभागी तीनजना मन्त्रीले राजीनामा दिइसकेका छन् । 

एमालेले समर्थन फिर्ता लिएको मितिले ३५ दिनभित्र मुख्यमन्त्रीले प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । वैशाख ३ गते एमालेले समर्थन फिर्ता लिएको ३५ दिन पूरा हुने हुँदा सो बैठकलाई चासोका साथ हेर्न थालिएको छ । कर्णालीमा एमालेले आफ्नै नेतृत्वमा सरकार गठन गर्ने कसरत सुरु गरेको छ भने नेपाली कांग्रेस र माओवादी केन्द्रले पनि सरकार बनाउने कसरत सुरु गरेका छन् ।