
बिहिवार , भाद्र ५, २०८२
काठमाडौं, ५ भदौ । गाजापट्टीमा बुधवार इजरायली सेनाले कम्तिमा ३६ जना प्यालेस्टिनीहरूको हत्या गरेको गाजाको नागरिक रक्षा प्राधिकरणले जनाएको छ ।
गाजा शहरको उत्तरमा रहेको जबालिया शहरमा रहेको एक घरमा भएको हवाई आक्रमणमा तीन जना प्यालेस्टिनीहरूको मृत्यु भएको हो । गाजा शहरको पश्चिममा रहेको शाती शरणार्थी शिविरमा विस्थापित मानिसहरूलाई आश्रय दिने पालमा गरिएको बम विस्फोटमा पाँच जनाको मृत्यु भएको छ ।
बसालले पश्चिमी गाजा शहरको इस्लामिक विश्वविद्यालय नजिकै रहेको पालमा भएको बम विस्फोटमा दुई बालबालिकासहित चार जनाको मृत्यु भएको बताउनु भयो । उहाँले शहरको दक्षिणमा रहेको साब्रा छिमेकमा रहेको एक घरमा भएको आक्रमणमा थप दुई बालबालिकाको मृत्यु भएको पनि बताउनु भयो ।
बसालकाअनुसार दक्षिणी गाजा शहरको जेइटुन छिमेकमा विस्थापित मानिसहरूलाई आश्रय दिने दान तथा धार्मिक मामिला मन्त्रालयको भवनमा भएको हवाई आक्रमणमा थप चार जनाको मृत्यु भएको छ । यी घटनाहरूमा इजरायली सेनाबाट तत्काल कुनै टिप्पणी आएको छैन ।
मार्च १८ मा, इजरायलले प्यालेस्टिनी एन्क्लेभमा आफ्नो सैन्य कारबाही पुनः शुरु गरेको थियो । इजरायलले आफ्नो आक्रमणहरू बढाएपछि १० हजार ५ सय ७६ प्यालेस्टिनीहरू मारिएका छन् । ४४ हजार ७ सय १७ जना घाइते भएका छन् । जसले गर्दा अक्टोबर २०२३ देखि कुल मृत्यु हुनेको संख्या ६२ हजार १ सय २२ पुगेको छ । घाइतेको संख्या १ लाख ५६ हजार ७ सय ५८ पुगेको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij