
बुधवार , बैशाख १, २०७८
बुटवल, १ वैशाख । आज विक्रम संवत् २०७८ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर भव्य रुपमा एकापसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लासका साथ मनाइँदैछ । नयाँ वर्षका अवसरमा नेपालभरका सरकारी कार्यालय, सार्वजनिक संस्थान एवं शिक्षण संस्थामा सार्वजनिक विदा दिइएको छ ।
आज काठमाडौँको उत्तरी भेगस्थित गोकर्णेश्वर र बूढानीलकण्ठ नगरपालिकाको संगममा रहेको वाग्मती नदीको उद्गमस्थल वाग्द्वार, टोखा नगरपालिकास्थित सपनतीर्थ, भक्तपुरमा मनाइने बिस्केट जात्रा, कीर्तिपुरस्थित चम्पादेवीमा लाग्ने जात्रालगायत मेला पर्वको आयोजना गरिन्छ । मेला पर्व आयोजना गर्दा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरि मनाउन सरकारले आग्रह गरेको छ ।
यसका साथै देशभर बिभिन्न स्थानमा लाग्ने मेला पर्व पनि कोरोना भाइरसको जोखिम कायमै रहेकाले स्वास्थ्य सुरक्षाका विधि अपनाएर भौतिक दूरी कायम गरी मनाइँदै छ । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख संक्रान्ति अर्थात् मेष राशी तथा नयाँ वर्षको जेठो दिन पनि हो ।
कलि युग सुरु भएको ३ हजार ४४ वर्षपछि विक्रम सम्वत् सुरु भएको हो । आज बिहानै नुहाउने, घरकोठा–आँगन सफा गर्ने, मीठोमीठो परिकार बनाएर खाने, साथीसंगती तथा इष्टमित्रसंग भेटघाट गरी एकापसमा शुभकामना आदानप्रदान गर्ने गरिन्छ । विश्वका जुनसुकै कुनामा बस्ने नेपालीले वैशाख १ गतेलाई नयाँ वर्षका रुपमा मनाउँछन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij