
बिहिवार , भाद्र ५, २०८२
भैरहवा, ५ भदौ । रुपन्देही प्रहरीले साउन महिनामा ६१ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ परेकाबाट ३२ वर्ष ३ महिना १९ दिन कैद र ४२ लाख ८३ हजार ५ सय ११ रुपैयाँ जरिवाना असुलउपर गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) सुरज कार्कीले जानकारी दिनुभयो । अदालतबाट दोषी ठहर भइ सजाय भुक्तान नगरी फरार रहेकालाई प्रहरीले पक्राउ गरेको हो ।
फैसलापछिको अवधिको आधारमा २० वर्षपछि ५, १५ वर्षपछि २, १० वर्षपछि ३, ५ वर्षपछि १ र ५ वर्षभन्दा कम ५० गरी ६१ जनालाई पक्राउ गरिएको डीएसपी कार्कीले जानकारी दिनुभयो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०८१÷०८२ मा ८२३ जना फरार प्रतिवादी पक्राउ परेका थिए । जसमध्ये असारमा ५९ जना पक्राउ परेका थिए ।
त्यस्तै साउन महिनामा विभिन्न स्थानमा गरिएको चेकजाँचबाट ४ हजार ३ सय ४२ बाट सवारीसाधनलाई कारवाही गरिएको र ट्राफिक नियम उल्लघंन गर्नेबाट ४३ लाख ७७ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) प्रदीप बहादुर क्षेत्रीले बताउनुभयो ।
साउनमा भन्सार छली चोरी निकासी गरी भारतबाट नेपालतर्फ अवैध रुपमा ल्याउँदै गरेको अन्दाजी मूल्य रु.२ करोड १७ लाख ८७ हजार ३ सय ५९ बराबरको सामानहरु बरामद गरिएको एसपी क्षेत्रीले जानकारी दिनुभयो । सामान, सामान ल्याउन प्रयोग गरिएका सवारीसाधन र मानिस आवश्यक कारवाही र लागि सम्बन्धित निकायमा पठाइएको एसपी क्षेत्रीले बताउनुभयो ।
त्यसै गरी साउन महिनामा रुपन्देहीमा २२ जनाले आत्महत्या गरेको प्रहरीले जनाएको छ । जसमध्ये झुण्डिएर आत्महत्या गर्नेको संख्या १९ छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij