२०८२, भाद्र ६ गते

Aug 22 2025 | २०८२, भाद्र ६ गते

गुल्मेली सम्पर्क समाज सिद्धार्थनगर शाखाद्वारा खुल्ला तीज गीत कार्यक्रम

शुक्रवार , भाद्र ६, २०८२

  • 352
    Shares
  • 352
    Shares
  • भैरहवा, ६ भदौ । गुल्मेली सम्पर्क समाज रुपन्देही सिद्धार्थनगर शाखाले खुल्ला तीज गीत तथा दर खाने कार्यक्रम गरेको हो । हिन्दू नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा बिहीबार भैरहवामा कार्यक्रम गरिएको समाजका अध्यक्ष केशवराज ज्ञवालीले बताउनुभयो ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि शुद्धोदन गाउँपालिका, रुपन्देहीकी उपाध्यक्ष शान्तादेवी ज्ञवालीले गुल्मेली सम्पर्क समाजको विकास निर्माण, समाज सुधार लगायत विभिन्न गतिविधिहरुमा अग्रसरता र सक्रियता रहने विश्वास व्यक्त गर्नुभयो । उहाँले तीज पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै कार्यक्रममा सहभागी हुने अवसर प्रदान गरेको भन्दै गुल्मेली सम्पर्क समाज रुपन्देही सिद्धार्थनगर शाखाप्रति आभार व्यक्त गर्नुभयो ।

    त्यस्तै राष्ट्रिय सभाका पूर्व सदस्य खिमलाल भट्टराईले गुल्मी पहिचान बनाएको जिल्ला भएको बताउनुभयो । उहाँले गुल्मेली सम्पर्क समाज सिद्धार्थनगर शाखाले सामाजिक तथा साँस्कृतिक क्षेत्रमा उत्कृष्ट कार्य गरेको बताउनुभयो । तीज पर्वलाई भड्किलो र खर्चिलो नबनाइ नेपाल सभ्यता झल्किने गरी मनाउन उहाँले आग्रह गर्नुभयो । भट्टराईले तीज पर्व मेलमिलापको पर्व भएकाले यो पर्व विकृति, विसंगतितर्फ नजाओस् भन्नेतर्फ ध्यान दिन समेत आग्रह गर्नुभयो । उहाँले देशलाई विकासको बाटोमा अघि बढाउने र जनतालाई खुसी बनाउनेतर्फ नै वर्तमान सरकार अघि बढेको दावी गर्नुभयो ।

    नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य महेन्द्र कुमार श्रेष्ठले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भए यस क्षेत्रको आर्थिक गतिविधि बढ्ने बताउनुभयो । गुल्मेली सम्पर्क समाजका केन्द्रीय उपाध्यक्ष लक्ष्मण ज्ञवालीले संस्कृतिको जर्गेना गर्न समाजले यस्ता कार्यक्रमलाई निरन्तरता दिदै आएको बताउनुभयो ।

    समाजसेवी तथा भीम अस्पताल विकास समितिका पूर्वअध्यक्ष हितराज पन्थीले धर्म–संस्कृतिको संरक्षणमा चाडपर्वको महत्वपूर्ण भूमिका रहेकोमा जोड दिनुभयो ।

    सिद्धार्थनगर नगरपालिका–३ का वडाअध्यक्ष नारायण प्रसाद उपाध्यायले आफू स्याङ्जामा जन्मे पनि आफूलाई यहाँसम्म पुर्याउन गुल्मेलीहरुको पनि साथ र सहयोग रहेको बताउनुभयो ।

    गुल्मेली सम्पर्क समाज रुपन्देही सिद्धार्थनगर शाखाका अध्यक्ष केशवराज ज्ञवालीको अध्यक्षता, कार्यक्रम संयोजक एवं समाजकी उपाध्यक्ष मञ्जु पाण्डेको स्वागत तथा सचिव अर्जुन प्रसाद गौतमको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।