२०८२, भाद्र ६ गते

Aug 22 2025 | २०८२, भाद्र ६ गते

भैरहवा विमानस्थल सञ्चालन गर्न प्रधानमन्त्रीको भारत भ्रमणमा छलफल गर्छौं : मन्त्री पाण्डे

शुक्रवार , भाद्र ६, २०८२

  • 517
    Shares
  • 517
    Shares
  • काठमाडौं, ६ भदौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले भैरहवा विमानस्थल नियमित सञ्चालन गर्नका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका क्रममा रुटहरुबारे छलफल हुने बताउनुभएको छ ।

    शुक्रवारको राष्ट्रिय सभाको बैठकमा सांसद मायाप्रसाद शर्माले राख्नुभएको जिज्ञासाको जवाफ दिँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले उडानका लागि नेपालले प्राप्त गर्नुपर्ने रुटका विषयमा छलफल हुने बताउनु भयो । यस विषयलाई महत्वका साथ भ्रमणमा उठाउने, रुटका बारेमा स्पष्ट हुने गरी वार्ता गर्ने उहाँको भनाइ छ ।

    भैरहवा विमानस्थल र पोखरा विमानस्थल, अन्तर्राष्ट्रिय विमानस्थल र क्षेत्रीय विमानस्थल दुवै विमानस्थल सुचारु गर्नका लागि यो सरकार बनेपछि मन्त्रीपरिषद्ले एउटा कार्ययोजना पास गरेको बताउनु भयो । विमानस्थललाई चलायमान बनाउन त्यहीँ भिसा सेन्टर, अध्यागमन, श्रम कार्यालय, क्वारेन्टाइन लगायत आवश्यक सबै कुरारुरु उपलब्ध गराउने गरी सरकार अघि बढिरहेको बताउनु भयो । 

    उहाँले भन्नुभयो, ‘भैरहवा विमानस्थल र पोखरा विमानस्थल, अन्तर्राष्ट्रिय विमानस्थल र क्षेत्रीय विमानस्थल दुवै विमानस्थल सुचारु गर्नका लागि यो सरकार बनेपछि मन्त्रीपरिषद्ले एउटा कार्ययोजना पास गरेको छ ।

    जसको कारणले दुवै विमानस्थललाई चलायमान बनाउने बाटो लिएका छौँ, भिसा सेन्टर त्यहीँ स्थापना हुनुपर्ने, अध्यागमन स्थापना गर्ने, श्रम कार्यालय स्थापना गर्ने, क्वारेन्टाइन त्यहीँ राख्ने, स्वास्थ्य परीक्षणका लागि आवश्यक कुरा लिएर जाने, म्यानपावर कम्पनीहरुलाई पनि आकर्षित गर्ने, सरकारले दिने विभिन्न खालका छुटहरु, फ्युलमा छुट, ति दुई विमानस्थल का हकमा दुई वर्षका लागि टिकटमा लाग्ने भ्याटमा छुट लगायतका विभिन्न सहुलियतका कार्यक्रमहरु प्याकेजमै मन्त्रीपरिषद्को निर्णयअनुसार लिएर गएका छौँ ।

    यो विषयमा अर्थमन्त्रीज्युसँग पनि छलफल भएको छ । प्रधानमन्त्रीज्युको भारत भ्रमणको पूर्वसन्ध्यामा हामीले प्राप्त गर्नुपर्ने रुटका विषयमा, बाहिर र भित्र आवागमन दुवैका लागि रुटहरु आवश्यक पर्दछ ।  केबल सिमरानेरको रुटमात्रै आउने जाने छ । यो विषयलाई महत्वका साथ भ्रमणमा उठाउने, रुटका बारेमा स्पष्ट  हुने ।

    काठमाडौं नआइकनै मानिसहरु विमानस्थलमा उत्रिने, उड्ने र भैरहवा विमानस्थललाई संसारभरका बुद्ध धर्मावलम्वीहरुलाई काठमाडौं नआइकनै आउन, जानसक्ने व्यवस्था मिलाउने गरी काम गरिरहेका छौँ ।’

    मन्त्री पाण्डेले विस्तारै सकारात्मक परिणाम देख्न सकिने बताउनु भयो ।