२०८२, भाद्र ७ गते

Aug 23 2025 | २०८२, भाद्र ७ गते

डिप्लोमा इन्जिनियर्स एशोसिएसन नेपाल रुपन्देहीको अध्यक्षमा काफ्ले

शुक्रवार , भाद्र ६, २०८२

  • 970
    Shares
  • 970
    Shares
  • भैरहवा, ६ भदौ । डिप्लोमा इन्जिनियर्स एशोसिएसन नेपाल (डिन) रुपन्देहीको जिल्ला भेला तथा अधिवेशन सम्पन्न भएको छ । बिहीबार भैरहवामा सम्पन्न भेला तथा अधिवेशनले नारायण प्रसाद काफ्लेको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । डिन रुपन्देहीको उपाध्यक्षमा कपिल न्यौपाने, सचिवमा हृदेश कुमार बनिया, सह–सचिवमा मुकुन्द आचार्य र कोषाध्यक्षमा हेमन्ता श्रेष्ठ रहनुभएको छ ।

    त्यस्तै सदस्यमा बाबुराम भण्डारी, गणेश पाण्डे, हेमन्त पाण्डेय, प्रिति कुमारी चौधरी, मान प्रसाद श्रेष्ठ र दिपक अर्याल रहनुभएको छ । दुई जना सदस्य कार्यसमितिको बैठकले मनोनित गर्नेछ ।

    डिन रुपन्देहीका अध्यक्ष नारायण प्रसाद काफ्लेको अध्यक्षता, केन्द्रीय अध्यक्ष तथा सार्क डिप्लोमा इन्जिनियर्स फोरम (एसडीईएफ) का अध्यक्ष कामेश्वर प्रसाद सिंहको प्रमुख आतिथ्यता, डीन केन्द्रीय उपाध्यक्ष तिलक न्यौपाने र लुम्बिनी प्रदेश सरकारका पूर्वाधार विज्ञ इन्जिनियर जीवन अर्यालको विशिष्ट आतिथ्यता, केन्द्रीय सदस्य भरत केसी.को आतिथ्यता तथा हृदेश कुमार बनियाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    कार्यक्रममा सरकारले डिप्लोमा इन्जिनियर्स तथा टीएसएलसी अध्ययन गरेका प्राविधिकहरुको परिषद् वा काउन्सिल स्थापना गरी आबद्ध गराउनुपर्ने, जुन विषयलाई लिएर केन्द्रिय समितिले अदालतमा मुद्दा समेत दायर गरिसकेको जानकारी गराइएको थियो ।

    इलेक्ट्रिकल र मेकानिकलतर्फका प्राविधिकहरुलाई गरिएको भेदभावपूर्ण निर्णयलाई सुधार गरी सब–इन्जिनियर र असिसटेन्ट सब–इन्जिनियर पद कायम हुने व्यवस्था मिलाउनुपर्ने, काउन्सिलको सदस्यता प्रदान गरी धितो मूल्यांकन तथा घर नक्सा पासका लागि सीमा निर्धारण गरी अधिकार प्रदान गर्नुपर्ने माग तथा छलफल भएको सचिव हृदेश बनियाले बताउनुभयो ।

    त्यस्तै लोकसेवा आयोगबाट हुने विज्ञापनमा प्राविधिक चौथो र पाँचौको पदमा डिप्लोमा इन्जिनियर्सको काउन्सिलको सदस्यता वा दर्ता भएका प्राविधिकले मात्रै विज्ञापनमा फारम भरी प्रतिष्पर्धामा सहभागी हुन पाउने लगायतका विभिन्न विषयहरुलाई लिई डिनले सरकारसँग विगत लामो समयदेखि वार्ता तथा समन्वय गरिरहेको बताइएको थियो ।

    WhatsApp Image 2025-08-22 at 11.31.55 AM.jpeg

    कार्यक्रममा जिल्लाका विभिन्न कार्यालयहरुमा कार्यरत प्राविधिकहरु जसमा सिभिल, जियोमेटिक्स, इलेक्ट्रिकल, कम्प्युटर, मेकानिकल इन्जिनियरिङ्ग लगायतका प्राविधिकहरुको सहभागीता थियो ।