
आइतवार , भाद्र ८, २०८२
भैरहवा, ८ भदौ । लायन्स क्लब अफ सिद्धार्थनगर होलिसिटी सिद्धार्थनगरले फिस्टुला थाईरोईडको उपचार गराइरहेकी ९ वर्षिय बालिकालाई आर्थिक सहयोगको गरेको छ । क्लबले सिद्धार्थनगर नगरपालिका–७ निवासी गन्ना विश्वकर्मालाई ५० हजार १ सय रुपैयाँ प्रदान गरेको हो ।
शनिबार भैरहवामा क्लबले एक कार्यक्रमकाबीच उक्त रकम बालिकालाई हस्तान्तरण गरेको हो । बालिकाको परिवारको आर्थिक अवस्था कमजोर भएको जानकारी पाएपछि केही भए पनि सहयोग पुग्ने उद्देश्यले रकम प्रदान गरिएको कार्यक्रम संयोजक माधव शर्माले बताउनुभयो । उक्त रकमले बालिकाको उपचार तथा पढाइमा सहयोग पुग्ने शर्माले विश्वास व्यक्त गर्नुभयो । बालिकाको रेखदेख तथा लालनपालन हाल उनको बाजेले गरिरहनुभएको शर्माले जानकारी दिनुभयो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ पी, नेपालका डिष्ट्रिक गभर्नर बालाराम भट्टराईले लायन्स क्लब अफ सिद्धार्थनगर होलिसिटी सिद्धार्थनगरले उत्कृष्ट कार्य गरेको बताउनुभयो । उहाँले डिष्ट्रिककोतर्फबाट क्लबलाई सहयोग गरिने बताउनुभयो । उहाँले राज्यले गर्नुपर्ने कतिपय कामहरु लायन्स लगायत सामाजिक संघ–संस्थाहरुले गरिरहेको बताउनुभयो ।
त्यस्तै लायन्स सिद्धार्थनगर होलिसिटी सिद्धार्थनगरका संस्थापक अध्यक्ष ओम कुमार श्रेष्ठले क्लबले मानवीय सेवाका कार्यहरु गर्दै आइरहेको बताउनुभयो । उहाँले यसअघि पनि मानसिक रोगबाट पीडित बालकलाई क्लबले आर्थिक सहयोग गरेको जानकारी दिनुभयो ।
लायन्स सिद्धार्थनगर होलिसिटी सिद्धार्थनगरका अध्यक्ष ऋषिराम पाण्डेको अध्यक्षता तथा सचिव विक्रम पन्थीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij