
बुधवार , बैशाख १, २०७८
बुटवल, १ वैशाख ।
पछिल्लो समयमा कोरोना भाइरस (कोभिड १९)को संक्रमण बढिरहँदा सरकारको तर्फबाट हुनुपर्ने तयारी नभएको भन्दै नीजि क्षेत्रबाट चासो र चिन्ता व्यक्त गरिएको छ । छिमेकी देशहरुमा दोस्रो लहरको संक्रमण फैलिएसंगै त्यसको प्रभाव विस्तारै नेपालमा समेत पर्न थालेपछि सम्भावित जोखिमप्रति चासो बढेको हो ।
बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले नयाँ वर्ष २०७८ को पूर्व संन्ध्यामा मंगलबार सांझ बुटवलमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा स्वागत कार्यक्रममा वक्ताहरुले सम्भावित जोखिमको बारेमा कुरा राख्दै अझै पनि सरकारको तर्फबाट प्रभावकारी कामहरु हुन नसकेको औंल्याएका हुन् । संघले रुपन्देही जिल्लाका नवआगन्तुक प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा प्रमुखहरु र नेपाल पत्रकार महासंघ रुपन्देहीका नवनिर्वाचित अध्यक्षलाई स्वागत गरेको हो ।
त्यस अवसरमा बोल्दै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी आसमान तामाङ्ले सबैले सुरक्षाको अनुभूति गर्नेगरी सुरक्षा प्रबन्ध मिलाउने प्रतिवद्धता व्यक्त गरे । उनले पछिल्लो समयमा छिमेकी मुलुकमा कोरोना भाइरस संक्रमण बढेसंगै सिमा नाकामा होल्डीङ् सेन्टर बनाउन लागेको जानकारी दिए । बाहिरबाट आउनेलाई निगरानी गर्ने र संक्रमण पुष्टि भए सिटी भ्यालुको आधारमा घरमा या अस्पतालमा कहा पठाउनुपर्ने हो, सम्बन्धित स्थानीय तहसंग समन्वय गरेर पठाउने व्यवस्था मिलाउने उनले बताए । रुपन्देही जिल्लामा अहिले सञ्चालनमा रहेका ७२ वटा एम्बुलेन्समध्ये एउटा पनि कोभिड मैत्री नभएकाले सामाजिक उत्तरदायित्वमा कोभिड मैत्री एम्बुलेन्स सञ्चालन व्यवस्थापनको लागि उनले नीजि क्षेत्रलाई आग्रह गरे । उनले बजारको नियमनलाई पनि प्राथमिकतामा राखेको जानकारी गराउँदै त्यसमा सहकार्य गर्न उद्योग वाणिज्य संघलाई आग्रह गरे ।
राजस्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख राजन बिसिले राजस्व चुहावट नियन्त्रणको लागि नीजि क्षेत्रसंग सहकार्य गर्न आफू तयार रहेको जानकारी गराउँदै नियमसंगत रुपमा व्यापार व्यवसाय गर्न आग्रह गरे ।
नेपाल पत्रकार महासंघ रुपन्देहीका नवनिर्वाचित अध्यक्ष रामराज पोख्रेलले कोरोना भाइरस महामारीले मुलुकलाई धेरै पछाडी धकेलेको बताउँदै यसलाई माथि उठाउन र उद्योग व्यवसाय जोगाइराख्नको लागि सरकारले विशेष कार्यक्रम ल्याउनुपर्ने सुझाव दिए । सरकारले नीजि क्षेत्रलाई लक्षित गरेर पुनःकर्जा कार्यक्रम ल्याए पनि उक्त कार्यक्रम हात्तीका देखाउने दाँत मात्रै भएको समेत बताए । मुलुकको अर्थतन्त्रलाई बलियो बनाउन र समृद्ध मुलुक निर्माणको लागि पनि सरकारले दीर्घकालिन सोंच राख्नुपर्ने उनको भनाइ थियो ।
त्यसै गरी बुटवल उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष तथा सल्लाहकार निर्मलप्रसाद लाकौलले कोरोना महामारीले नीजि क्षेत्र धरासायी भएको अवस्थामा पुन दोस्रो लहर सुरु भएसंगै नीजि क्षेत्रलाई निराशा बनाएको बताउँदै मुलुकको सुदृढ अर्थतन्त्रको लागि पनि नीजि क्षेत्रलाई सान्त्वना हुने गरी अगाडि बढ्न सरकारलाई आग्रह गरे । उनले गत वर्ष कोरोना महामारी आएपछि स्वास्थ्य क्षेत्रमा केही गर्नुपर्छ भन्ने भावना तत्काल आएपछि अहिलेसम्म सरकारको तर्फबाट कुनै प्रकारको थप तयारी नगरेको बताउँदै बिरामीको प्रभावकारी विश्वसनीय उपचारको वातावरण तत्काल बनाउन सुझाव दिए ।
संघका अध्यक्ष उज्जवलप्रसाद कसजुले कोरोना महामारी भइहालेमा स्वास्थ्य सुरक्षा अपनाउनुपर्ने सबैको दायित्व भएको बताउँदै तर अर्थतन्त्रलाई नै प्रभावित गर्ने र नीजि क्षेत्रलाई धरासायी गराउने गरी लकडाउनको नीति लिन नहुने बताए । त्यस अवसरमा संघका वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठले संघले सामाजिक तथा आर्थिक विकासमा संघले अहिलेसम्म गरेका गतिविधिको बारेमा जानकारी गराएका थिए ।
संघका महासचिव विमलराज भट्टराईको सञ्चालनमा भएको कार्यक्रममा कपडा वस्तुगत समितिका पूर्व अध्यक्ष पुरन श्रेष्ठ लगायतले बढ्दो कोरोना भाइरस संक्रमणले उद्योगी व्यबसायीलाई मनोवैज्ञानिक रुपमा दवाव पारेको र त्यसलाई निस्तेज गर्ने गरी सरकारले भरपर्दो स्वास्थ्य सेवासहित नीजि क्षेत्रलाई उत्साहित गर्ने कार्यक्रम ल्याउन आग्रह गरे ।
त्यसै अवसरमा संघले प्रकाशन गरेको नयाँ वर्ष २०७८ को भित्तेपात्रो र कपडा वस्तुगत समितिले प्रकाशन गरेको भित्तेपात्रो समेत सार्वजनिक गरिएको थियो । बुटवल उद्योग वाणिज्य संघले प्रकाशन गरेको क्यालेण्डर प्रकाशनको संयोजन कार्यसमिति सदस्य प्रकाश श्रेष्ठले गरेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij