
मंगलवार , भाद्र १०, २०८२
भैरहवा, १० भदौ । ६ महिनाअघि हराएकी एक बालिकाको माइती नेपाल भैरहवाले भारतबाट उद्वार गरेको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका–८ की ९ वर्षिय बालिका ६ महिनाअघि हराएकी थिइन् ।
माइती नेपालले भारतका विभिन्न संघ–संस्था, दूताबासलगायत कागजी प्रक्रिया पूरा गरेर बालिकालाई भैरहवा आवधिक गृहमा एक हप्ता राखेको थियो । बालिकाको परिवारसँग सम्पर्क भएपछि घर पठाइएको माइती नेपाल आवाधिक गृह भैरहवाकी कार्यक्रम संयोजक माया क्षेत्रीले बताउनुभयो ।
आफ्नो बुवाको साथमा भारतको चण्डीगढ गएकी बालिका हराएकी थिइन । चण्डीगढबाट आउने क्रममा हरियाणाबाट हराएकी बालिकालाई आफू चण्डीगढ पुगेर उद्वार गरी भैरहवा ल्याएको क्षेत्रीले जानकारी दिनुभयो । छोरीलाई लिएर हिंडेका बाबुको मानसिक अवस्था बिग्रेका कारण बालिका हराएको उहाँले बताउनुभयो ।
अन्नपूर्ण गाउँपालिका ८ नम्बर वडा कार्यालय बिरेठाँटी, कास्कीले सिफारिस गरी पठाएका आफन्त (काका नाता पर्ने) मार्फत घर पठाइएको क्षेत्रीले जानकारी दिनुभयो । बालिकाको घरमा बाबुआमा नभएकाले बाजेबज्यैको आग्रहमा सोमबार त्यहाँ पठाइएको उहाँले बताउनुभयो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij