
बुधवार , भाद्र ११, २०८२
काठमाडौं, ११ भदौ । उखुको अनुदान भुक्तानीको माग राखी आन्दोलनमा उत्रेका उखु किसानले आन्दोलन जारी राखेका छन् ।
किसानले काठमाडौंको माईतीघरमा आईतवारदेखि शुरु गरेको आन्दोलनलाई बुधवार पनि निरन्तरता दिएका हुन् । उखु उत्पादन महासंघ नेपालका अध्यक्ष श्यामबाबु रायले आर्थिक वर्ष २०८१/२०८२ मा सरकारले तोकेको प्रतिक्वीन्टल ७० रुपैयाँका दरले अनुदान भुक्तानी पाउनुपर्ने आफुहरुको मुख्य माग रहेको बताउनु भयो ।
उहाँकाअनुसार गतवर्ष सरकारले उखुको मूल्य प्रतिक्वीन्टल ६ सय ५५ रुपैयाँ तोकेको थियो । उक्त रकममध्ये उद्योगले ५ सय ८५ रुपैयाँ र सरकारले ७० रुपैयाँ अनुदान किसानलाई दिनुपर्नेछ । तर सरकारले ७० रुपैयाँ अनुदान नदिएको अध्यक्ष रायले बताउनु भयो । सरकारले आर्थिक अभाव देखाएर उखु किसानको अनुदानलाई आधा कटौती गरेको छ ।
प्रतिक्वीन्टल ३५ रुपैयाँले किसानलाई अनुदान उपलब्ध गराउनेगरी अर्थ मन्त्रालयले मंगलवार ७५ करोड ४९ लाख ३८ हजार २ सय ४० रुपैयाँ निकासा गरेको छ । तर सो रकममा किसानले चित्त बुझाएका छैनन् । अध्यक्ष रायले ७० रुपैयाँका दरले हुन आउने एक अर्ब ६० करोड रुपैयाँ बराबरको अनुदान निकासा गर्न सरकारसँग माग गर्नुभयो ।
किसानले पाउने अनुदानको रकम घटाउनेगरी सरकारसँग वार्तामा आफूहरु नबस्ने पनि अध्यक्ष रायले बताउनु भयो । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले मंगलवार कृषि विभागका उपमहानिर्देशक ललनकुमार सिंहको नेतृत्वमा उखु किसानसँग वार्ता गर्नको लागि समिति गठन गरेका छन् ।
उखु उत्पादन महासंघका अध्यक्ष रायले भन्नुभयो, ‘हाम्रो माग अहिलेका लागी उखुको अनुदान ७० रुपैयाँमा हो । नेपाल सरकारले हाम्रो गत वर्ष २०८१/०८२ को नेपाल सरकारले तय गरेको ६ सय ५५ रुपैयाँ उखुको मूल्यमध्ये उद्योगले ५ सय ८५ रुपैयाँ र नेपाल सरकारले ७० रुपैयाँ दिने भनेको अनुदान रकम अहिलेसम्म नपाएर हामीले ७० रुपैयाँ अनुदान रकमको लागी मुख्य हाम्रो आन्दोलन हो ।
अहिले हाम्रो चौथो दिन हो आन्दोलन । सरकारसँग वार्ता हाम्रो कृषिमन्त्रालयको सहसचिवको अध्यक्षतामा एउटा वार्ता समिति गठन भएको छ । मैले पनि हिजो साँझ थाहा पाए, एकछिन बोलाउनु भयो । कार्यविधिहरुको बारेमा जानकारी गराउनु भयो । मैले भने हाम्रो ७० रुपैयाँ पाउँछ कि पाउँदैन । उहाँले भन्नुभयो, अहिले ३५ रुपैयाँका दरले ७५ करोड रुपैयाँ हामीले निकासा गरेको हो ।
मलै ७५ करोड रुपैयाँले हामीलाई चित्त बुझदैन, हाम्रो ७० रुपैयाँले हुन जान्छ एक अर्ब ६० करोड त्यसको कुरा गर्नुस् । त्यसको बारेमा छलफलमा बोलाउनुहुन्छ भने हामी आउनको लागी तयारी हो । हाम्रो मुल्उ आन्दोलन पनि यही हो । हामीले यो आन्दोलन ७ दिनको लागी भनेर आएको हो, ८ गतेबाट १५ गतेसम्म हो । १५ गतेसम्म राज्यले सुनेन भने फेरी हाम्रो महासंघको बैठक बसेर पुन अर्को चरणको आन्दोलन र कार्यक्रम तय गर्नेछौँ ।’
उखु किसानले ‘उखु किसानको अनुदान कटौती गर्न पाइँदैन’, ‘उखु कृषक शोषण बन्द गर’, ‘किसानसँग भएका सम्झौता लागू गर’ लगायत माग लेखिएको प्लेकार्ड बोकेका प्रदर्शन गरेका छन् । नेपाल उखु उत्पादक महासंघको नेतृत्वमा किसाहरु सडक आन्दोलनमा होमिएका हुन् ।
उखु किसानको आन्दोलन भदौ १५ गतेसम्म चल्ने उखु उत्पादन महासंघका अध्यक्ष रायले बताउनु भयो । उक्त बेलासम्म पनि सरकारले आफ्नो माग पूरा नगरे दोस्रो चरणको आन्दोलन घोषणा गर्ने अध्यक्ष रायले जानकारी दिनुभयो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij