
बिहिवार , भाद्र १२, २०८२
दाङ, १२ भदौ । लुम्बिनी प्रदेशमा प्रदेश निजामती सेवा दिवस–२०८२ तीन दिनसम्म विविध कार्यक्रमसहित मनाइने भएको छ । भदौ २० गतेदेखि २२ गतेसम्म विभिन्न गतिविधि आयोजना गर्ने निर्णय गरिएको हो ।
प्रदेश निजामती सेवा दिवस मूल समारोह समितिको बैठकले रक्तदान, अन्तरक्रिया, वृक्षारोपण, सरसफाई, खेलकुद प्रतियोगिता, परिसंवाद, साँस्कृतिक झाँकीसहितको प्रभातफेरी र मूल समारोह आयोजना गर्ने निर्णय गरेको छ ।
लुम्बिनी प्रदेश सरकारका प्रमुख सचिव बावुराम अधिकारीको अध्यक्षतामा बसेको बैठकले भदौ २० गते बिहान ७ बजे स्वास्थ्य मन्त्रालयको संयोजनमा नेपाल रेडक्रस सोसाइटी तथा सुरक्षा निकायसँग समन्वय गरेर रक्तदान कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ । सोही दिन दिउँसो १ बजे ’संघीयता कार्यान्वयनमा प्रदेश निजामती सेवाका अवसर र चुनौतीझ विषयक अन्तरक्रिया कार्यक्रम राखिनेछ ।
त्यस्तै भदौ २१ गते बिहान ७ बजे प्रशासनिक परिसर क्षेत्रमा वृक्षारोपण गरिने, सोही दिन बिहान ८ बजे सरसफाई कार्यक्रम गरिने, भदौ २० र २१ गते खेलकुद प्रतियोगिता आयोजना गर्ने निर्णय भएको छ ।
त्यस्तै भदौ २२ गते प्रशासनिक संघीयता सम्बन्धी परिसंवाद, सोही दिन बिहान १० बजे सांस्कृतिक झाँकी, ब्याण्ड बाजासहित प्रभातफेरी हुने निर्णय भएको मुख्यमन्त्री कार्यालयका सचिव कविन्द्र नेपालले जानकारी दिनुभयो ।
भदौ २२ गते बिहान ११ बजे कर्मचारीहरूको प्रतिभा प्रस्तुतीकरणसहित प्रदेश निजामती सेवा दिवस मूल समारोह आयोजना गरिनेछ । सो अवसरमा प्रदेश निजामती सेवा पुरस्कार समेत प्रदान गरिनेछ । त्यस्तै दिवसको अवसरमा भदौ २०, २१ र २२ गते आ–आफ्नो मन्त्रालय र निकायमा दीपावली गर्ने निर्णय पनि गरिएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij