
बिहिवार , भाद्र १२, २०८२
काठमाडौं, १२ भदौ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर साहले निजी क्षेत्रको लगानी बाँकेबाट पश्चिम जान नसकेको गुनासो गर्नुभएको छ ।
बिहीवार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रायलमा आयोजित सुदूरपश्चिम प्रदेशमा आयोजना हुने लगानी तथा विकास सम्मेलन सम्बन्धी अन्तरक्रिया कार्यक्रम उहाँले यस्तो बताउनुभएको हो । उहाँले निजी क्षेत्रको ठूलाठूला लगानीहरु लुम्बिनी प्रदेशको बाँकेसम्म मात्रै पुगेको बताउनु भयो ।
उहाँले लगानी सुदूरपश्चिमसम्म के कारणले पुग्न नसकेको हो ? भन्दै प्रश्न समेत गर्नुभयो । उहाँले सुदूरपश्चिमलाई हेर्ने दृष्टिकोणमा भिन्नता देखिएको बताउनु भयो । उहाँले निजी क्षेत्र सुदूरपश्चिमसम्म पुग्न नसकेको कारण के हो ? भन्ने पहिचान गर्न खोजेको पनि उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘विशेष गरी लगानीका सन्दर्भमा दुई वटा कोणले हेर्नुपर्छ जस्तो मलाई लाग्छ । एउटा कोण सरकारले कति व्यवस्थापन गर्याे गरेन । एउटा पाटो त्यो छ, यसमा हामी धरै चुकेका छौँ । हामी गर्न खोजिरहेका छौँ । अर्को पाटो के छ भने जुनजुन निकायमा, ठाउँमा, प्रदेशमा अहिले लगानीहरु भएका छन् ।
ती लगानी कस्तो वातावरणमा भयो ? ती लगानी किन सुदूरपश्चिमसम्म पुग्न सक्दैन, त्यसको पनि गहिराईमा गएर हामी खोजी गर्न चाहन्छौँ । कारण के हो भन्ने पहिलाउन चाहन्छौँ, हामी । यो भन्दैगर्दा तपाईहरुलाई दुःखका साथ भन्नुपर्छ मैले अहिले निजी क्षेत्रको लगानी, ठूलाठूला लगानीहरु लुम्बिनी प्रदेशको बाँकेसम्म मात्रै पुगेको छ ।
त्यो भन्दा पश्चिम सर्नै सकेको छैन । यद्यपी हामीले सेजका कुरा, औद्योगिक क्षेत्रका कुरा, जग्गा प्राप्तीका कुरा उठान गर्दैगर्दाखेरी पनि हामी कहीँ त्यसमा चुकेका छौँ कि । हामीले त्यो वातावरण किन निर्माण गर्न सकेका छैनौँ । यतातिर पनि सोच्न जरुरी छ ।
यो भन्दैगर्दा की हामीलाई, सुदूरपश्चिमलाई हेर्ने दृष्टिकोणमा कही भिन्नता छ । अथवा सुदूरपश्चिमको आवाजलाई कसैले सुन्न दिँदैन की अथवा पुग्दैन की । अवथा हामी आफै पनि त्यो स्थानसम्म पुग्न सक्दैनौँ की भन्ने पनि मलाई महशुस हुन्छ ।’
उहाँले निजी क्षेत्रलाई ढुक्क भएर सुदूरपश्चिममा लगानी गर्न आग्रह समेत गर्नुभयो । निजी क्षेत्रलाई जग्गा, सडक, विद्युत लगायतका पूर्वाधार प्रदेश सरकारले उपलब्ध गराउने उहाँले जानकारी दिनुभयो ।
सुदूरपश्चिम प्रदेश सरकारले मंसिर १ र २ गते लगानी तथा विकास सम्मेलन गर्न लागेको छ । सोही सम्मेलनको बारेमा प्रदेश सरकारले उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयमा निजी क्षेत्रका प्रतिनिधिसँग अन्तरक्रिया आयोजना गरेको हो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij