२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

सिद्धार्थ फोर्स मोटर्सद्वारा भीम अस्पताललाई कोभिड–१९ बीमालेख हस्तान्तरण

बिहिवार , श्रावण २९, २०७७

भैरहवा, २९ साउन ।
सिद्धार्थ फोर्स मोटर्सले भैरहवास्थित भीम अस्पताललाई बिहीबार कोरोना भाइरस (कोभिड–१९)को बीमालेख हस्तान्तरण गरेको छ । विश्वव्यापी रुपमा फैलिएको कारोना भाइरसविरुद्ध अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मीहरुको अजोड इन्योरेन्स कम्पनी लिमिटेडमार्फत बीमालेख जारी गरिएको सिद्धार्थ फोर्स मोटर्सले जनाएको छ ।

बीमालेख हस्तान्तरण कार्यक्रममा बोल्दै भीम अस्पतालका मेडिकल सुपरीटेण्डेण्ट डा. नविन दर्नालले पछिल्लो समय कोभिड–१९ को लक्षण देखिएका विरामीहरुको संख्या बढिरहेको बताए । उनले विषम परिस्थितिमा विरामीहरुको उपचार गर्ने क्रममा स्वास्थ्यकर्मीहरु आफै संक्रमित हुन सक्ने अवस्थालाई मध्यनजर राख्दै फोर्स मोटर्सको पुनित कार्य गरेको बताए ।  यसले कोभिड–९९ का विरुद्ध खटिएका स्वास्थ्यकर्मीलाई काम गर्न थप उर्जा प्रदान भएको डा. दर्नालले बताए । 

सिद्धार्थ फोर्स मोटर्स प्रा.लि.का अध्यक्ष दिनेशमान अमात्यले विषम परिस्थितिमा स्वास्थ्यकर्मीहरु निरन्तर नागरिकलाई स्वास्थ्य सेवा दिन लागिपरेको बताए । उनले कोभिड–१९ बीमाले भोलिका दिनमा आइपर्ने समस्याबाट केही भए पनि राहत मिलोस् भन्ने उद्देश्यले बीमाको अवधारणा ल्याइएको बताए ।

भीम अस्पतालका प्रशासनिक अधिकृत गोविन्द ज्ञवाली, अस्पतालका कोभिड–१९ फोकलपर्सन डा. सुमित प्रजापति र सूचना अधिकारी गोपाल उपाध्यायले बोल्दै विषम परिस्थितिमा सिद्धार्थ मोटर्सले उदाहरणीय कार्य गरेको बताए ।

अस्पतालमा कार्यरत डाक्टर, नर्स, स्वास्थ्यकर्मी र कर्मचारी गरी ८३ जनाको कोभिड–१९ बीमा गरिएको अजोड इन्स्योरेन्स कम्पनी लिमिटेड भैरहवा शाखाका प्रबन्धक प्रकाश शर्माले बताए । बीमालेख जारी गरिएको स्वास्थ्यकर्मीहरुको पीसीआर परीक्षणको रिपोर्ट पोजेटिभ आए मागदावी अनुसार एक लाख रुपैयाँ उपलब्ध गराइने शर्माले जानकारी दिए । बीमालेखको म्याद एक वर्ष रहने उनले बताए ।