२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

लोभ र डरबाट म कहिल्यै प्रभावित हुनेछैन : घनश्याम भुसाल

बिहिवार , बैशाख २, २०७८

भैरहवा, २ वैशाख ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता तथा पूर्वमन्त्री घनश्याम भुसालले लोभ लालचा र डर त्रासबाट आफू कहिल्यै प्रभावित नहुने दावी गरेका छन् । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३ दरखसवामा खेलमैदानको शिलान्यास कार्यक्रममा बोल्दै भुसालले भने, ‘म लोभ र डरबाट कहिल्यै प्रभावित हुनेछैन । ’
 
भुसालले राजनीति गर्ने मान्छे लोभ र डरबाट टाढा बस्न सक्यो भने मात्रै पनि भ्रष्टाचार धेरै कम हुने बताए । उनले भने, ‘कमाउने, खाने र बाड्ने काममा राजनीतिक नेतृत्व लागेन भने कर्मचारीले राम्रो काम गर्छन । त्यो कुरा सिद्धार्थनगरमा नगरपालिकामा देखिएको छ । ’
 
भुसालले महाकालीको विषयमा प्रेम सिंह धामिले कुरा उठाउँदा केही नेताले धामिलाई दारु खाएर बोल्ने गरेको भन्दै आरोप लगाउँदा धामिले म देश बेच्नु भन्दा दारु खानु सही भएको देख्छु भन्दै लेख लेखेको समेत स्मरण गरे । उनले नेपालका नगरपालिका मध्येको सिद्धार्थनगर नगरपालिकाले जे पुर्वाधारमा काम गर्दैछ त्यो महत्वपूर्ण भएको समेत बताए । उनले भने, ‘सिद्धार्थनगरले पूर्वाधार निर्माणमा असाधारण काम गरेको छ । ’

रुपन्देही क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधिसभा सांसद भुसालले मीठो बोलेर पैसा खानु भन्दा चर्काे बोलेर काम गर्नु राम्रो हो भन्दै सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरि प्रसाद अधिकारीको सार्वजनिक कार्यक्रममै उच्च प्रशंसा गरेका थिए । भुसालले हरेक नीतिहरुको राजा राजनीति भएको भन्दै नयाँ वर्ष २०७८ मा हरेक नागरिकले राजनीतिमा अझ बढ्ता चासो होस् भन्ने कामना गर्दै भने, ‘राजनीतिलाई सही बाटोमा लैजन आम नागरिकले सचेत गराउनु पनि पर्दछ । ’
 
कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का नेता तथा पूर्व भूमिसुधार राज्यमन्त्री हकिकुल्ला खाँले समृद्धिको लागि सबैको एकता जरुरी रहेको बताए । उनले भने,‘ राजनीतिक किचलो बन्द होस् । नयाँ वर्षमा राजनीतिक किचलो हराउनुपर्छ ।’ कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरि प्रसाद अधिकारीले सबैको सहयोग र सहकार्यले गर्दा नगरमा उल्लेखनीय काम भइरहेको बताए ।

साढे ३ बिगाह क्षेत्रफलमा ९८ लाख ७२ हजार ६ सय ७५ को लागतमा निर्माण हुने खेल मैदानले खेल क्षेत्रको विकासमा टेवा दिने उपप्रमुख उमा काफ्लेले बताइन् । सो अवसरमा खेलमैदानसम्म जाने बाटोको लागि करिब साढे २ करोडको जग्गा दान गर्ने लक्ष्मण पन्थी र राधा उपाध्यायलाई सम्मान समेत गरिएको थियो ।