
मंगलवार , भाद्र १७, २०८२
बुटवल, १७ भदौ । रुपन्देहीको बुटवल उपमहानगरपालिका–१२ तामनगर सिस्नेटोल निवासी शान्ति दर्जी लामो समयदेखि क्यान्सर रोगले पीडित बन्नुभएको छ । विगत ४ वर्षदेखि चितवनको भरतपुरस्थित बि.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार गराइरहुनभएकी दर्जीले चरम आर्थिक अभावका कारण उपचारमा कठिनाइ भएको बताउनुभएको छ । क्यान्सरका कारण थलिएर अशक्त अवस्थामा घरमा प्राःय बिस्तारामा सुतिरहने अवस्थामा पुग्नुभएकी उहाँलाई खान पिउन समेत समस्या भएको परिवारका सदस्यहरुले बताएका छन् ।
धेरै वर्षअघि टाउकोको पछाडी बाँयापट्टी घाँटीमा पलाएको सानो ट्यूमरले शुरुमा केही दुःख नदिएको तर, पछि बढ्दै गएर निकै ठुलो भएको र दुःख्न थालेपछि उपचारका लागि विभिन्न अस्पतालहरु पुगेको उहाँले बताउनुभयो । ट्यूमरका कारण गम्भिर बिरामी भइ बोल्न समेत कठिनाइ हुँदै गएको र आवाज समेत बन्द हुन थालेको भन्दै सञ्चारकर्मी समक्ष उहाँले सहयोगको अपील गर्नुभएको हो । सबै मिडिया र सामाजिक सञ्जालमार्फत प्रचारप्रसार गरि सहयोग जुटाइदिन र जीवन बचाइदिन उहाँले आग्रह गर्नुभएको छ ।
दैनिक ज्यालादारी काम गर्दै आएका श्रीमान्, दुई छोरा र दुई छोरीसहित परिवारको गुजारा चलाउँदै आउनुभएकी ५२ वर्षिया शान्ति दर्जीले उपचारको क्रममा २८ लाख खर्च भइसकेको जानकारी दिनुभयो । महिनामा २ पटकसम्म लगातार ३ वर्ष किमो चढाएको उल्लेख गर्दै उहाँका श्रीमान् भिमबहादुर दर्जीले उपचारमा सबै सम्पत्ति सकिएको र चिकित्सकहरुका अनुसार अझै ५ देखि ६ लाखसम्म लाग्ने बताए । किमो चढाउँदा प्रत्येकपटक ५० हजारसम्म खर्च हुने गरेको बताउँदै उहाँले श्रीमतीको उपचारका क्रममा जीवनभर दुःख गरेर जोडेको २ कठ्ठा १७ जग्गासमेत गुमाउनुपरेको बताउनुभयो ।
हुन त बुटवल १२ वडा कार्यालय, उपमहानगरपालिका, प्रदेश सरकार लगायतका विभिन्न निकाय र तहमा सहयोगको लागि धाउँदा केही रकम उपलब्ध नभएको होइन । तर, आफ्नै आर्थिक अवस्था कमजोर भएका कारण धाउनन समेत कठिनाई भएको छ, दर्जीले भन्नुभयो ।
सबै सरकारी तथा गैरसरकारी निकाय र आम जनसमुदायसमक्ष सहयोगको अपील गर्दै राष्ट्रिय वाणिज्य बैंक बुटवल शाखामा खाता खोलेको उहाँले जानकारी गराए । उहाँका अनुसार क्यान्सर पीडित श्रीमती शान्ति दर्जीको नाममा खाता नम्बर ३१२०१००२०८४८७०१० खाता रहेको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij