
बिहिवार , बैशाख २, २०७८
भैरहवा, २ वैशाख ।
रुपन्देहीको रोहिणी गाउँपालिकाले गाउँपालिकाको वातावरण तथा प्राकृतिक श्रोत संरक्षण ऐन २०७७ पारीत गरेको छ । गाउँपालिकाको सम्पन्न आठौं गाउँसभाले ऐन पारीत गरेको छ ।
स्वच्छ, स्वस्थ वातावरणमा बाँच्न पाउने नागरिकको मौलिक अधिकारको संरक्षण गर्न, प्राकृतिक श्रोतको समुचित उपयोग एवं दिगो व्यवस्थापन गर्न, वातावरण र विकासबीच सन्तुलन कायम गर्न वातावरण तथा प्राकृतिक श्रोत संरक्षण ऐन आवश्यक देखिएकोले गाउँसभाले ऐन बनाएको रोहिणी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेले जानकारी दिए । यस्तै ऐनले प्राकृतिक श्रोत, वातावरण र जैविक विविधताको संरक्षणमा पनि सहयोग पु¥याउने लक्ष्य लिइएको छ ।
ऐनमा आफ्नो क्षेत्राधिकार भित्र वातावरण संरक्षण गर्ने प्रमुख जिम्मेवारी गाउँपालिकाकै हुने र वातावरण संरक्षण, प्रवद्र्धन र वातावरणमैत्री समाज निर्माणमा योगदान गर्नु नागरिकको कर्तव्य हुने उल्लेख गरिएको छ । त्यस्तै ऐनले वातावरण संरक्षण विशेष क्षेत्र निर्धारण गर्ने, सम्पदाको संरक्षण गर्ने, वातावरणीय अध्ययन, वातावरणीय व्यवस्थापन योजना तयार गर्ने, अनुकुलन योजना बनाउन सक्ने लगायतका दफाहरु निर्धारण गरेको छ ।
त्यस्तै ऐनमा प्रदुषण रोकथाम तथा नियन्त्रण गर्ने, फोहोरमैलाको व्यवस्थापन गर्ने, खनिज पदार्थको संरक्षण, जलाधार संरक्षण, वन पैदावरको संरक्षणको साथै प्रवद्र्धनमा सहयोग गर्ने बुंदाहरु समेटिएको प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले जनाए ।
गाउँसभाले ऐन पारित गरे पनि अहिले यो राजपत्रमा प्रकाशित भने भएको छैन् । छिट्टै नै यसलाई राजपत्रमा प्रकाशित गरी कार्यान्वयनमा ल्याइने गाउँपालिकाले जानकारी दिएको छ ।
यस संगै परिषदले आर्थिक ऐनमा २०७७ मा संशोधन र कार्यपालिकाले मानव बेचबिखन पीडित/प्रभावितहरुको उद्दार, स्वदेश फिर्ति तथा पुर्नस्थापना कोष संचालन तथा व्यवस्थापन निर्देशिका २०७७ पनि पारीत गरेको न्यौपानेले जानकारी दिए ।
यससंगै रोहिणी गाउँपालिका ऐन, निर्देशिका र कार्यविधिहरुको संख्या ३६ पुगेको छ । रोहिणी गाउँपालिकाको विनियोजन ऐन, आर्थिक कार्यविधि ऐन, स्थानीय स्वास्थ्य तथा सरसफाई ऐन, कृषि व्यवसाय प्रवद्र्धन ऐन लगायतका गाउँपालिका सञ्चालनमा आवश्यक पर्ने ऐनहरु बनाइसकेको गाउँपालिका अध्यक्ष सनोज कुमार यादवले जानकारी दिए ।
चौथौ वर्षमा चलिरहेको स्थानीय तहमा गाउँपालिका सञ्चालनको लागी आवश्यक पर्ने ऐन निर्माण गाउँ परिषदले गरिरहेको छ । यस्तै कार्यविधि र नियमावली कार्यपालिकाले पनि बनाएर कार्यान्वयनमा ल्याइने गरिएको छ । गाउँपालिका अध्यक्ष यादवले ऐनहरु निर्माण गर्ने मात्र नभइ यसको कार्यान्वयनमा पनि गाउँपालिका गम्भिर रहेको बताए । उनले गाउँपालिकाले निर्माण गरेका ऐनहरु गाउँपालिकालाई व्यवस्थित बनाउने भएकोले यसको पालन गर्नुपर्ने सम्पूर्ण गाउँपालिकावासीको दायित्व रहेको जिकिर गरे ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij