
बुधवार , भाद्र १८, २०८२
भैरहवा, १८ भदौ । रुपन्देही प्रहरीले लागूऔषधसहित तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको कोटहीमाई गाउँपालिका–५ घर भइ हाल सिद्धार्थनगर नगरपालिका–२ मेउडिहवामा डेरा लिइ बस्ने २६ वर्षिय इर्फान अन्सारी, सिद्धार्थनगर नगरपालिका–१ बाइपास बस्ने २६ वर्षिय प्रेमलाल यादव र रोहिणी गाउँपालिका–६ ललितपुर पकडिहवा बस्ने ३५ वर्षिय ईरसाद प्रवेज रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) सुरज कार्कीका अनुसार अन्सारीले लागूऔषध कारोबार गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा र प्रहरी चौकी मेउडिहवा रुपन्देहीबाट खटिएको संयुक्त टोली उक्त घरमा पुगेको थियो ।
आइतबार घरमा पुगेर रितपूर्वक खानतलासी गर्दा लागूऔषध (ब्राउन सुगर) जस्तो देखिने खैरो कलर धुलो पदार्थ १ ग्राम ७३० मिलिग्राम लागुऔषध बरामद गरी अन्सारीलाई नियन्त्रणमा लिइएको डीएसपी कार्कीले जानकारी दिनुभयो ।
त्यस्तै सोमबार इलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको टोलीले सिद्धार्थनगर–१ स्थित बन्दरगाहामा चेकजाँच गर्ने क्रममा यादवको साथबाट १ ग्राम ३ मिलिग्राम ब्राउन सुगर जस्तो देखिने लागूऔषध बरामद गरेको हो । प्रहरीले यादवको साथबाट लु.प्र.०१–००१ प १३५१ नम्बरको मोटरसाइकल, मोबाइल १ थान र कि–प्याड मोबाइल १ थान समेत बरामद गरेको छ ।
त्यसै गरी मंगलबार रोहिणी गाउँपालिका–६ ललितपुर पकडिहवामा लागूऔषध कारोबार हँुदैछ भन्ने गोप्य सुचनाको आधारमा लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय भैरहवा र इलाका प्रहरी कार्यालय धकधईबाट संयुक्त टोलीले चेकजाँच गरेको थियो ।
डीएसपी कार्कीका अनुसार ओमसतिया गाउँपालिका–४ पननीबाट युपी ५६ एएक्स ८१३४ नम्बरको मोटरसाइकलमा रहेका प्रवेजलाई चेकजाँच गर्दा मोटरसाइकलको बायाँतर्फको लेगार्डमा कालो प्लाष्टिकमा बेरिएकोDiazepam Injection ip 2ml ९८ एम्पुल, Buprenorphine Injection ip 2 ml ९६ एम्पुल, एPromethazine Hydrochloride Injection ip 2 ml ९९ एम्पुल गरी २९३ एम्पुल बरामद गरिएको थियो ।
उनको घरमा पुगेर खानतलासी गर्दा उनी सुत्ने कोठामा रहेको गहुँ राख्ने टिनको भकारीमा कालो रंगको प्लाष्टिकमा बेरी लुकाईछिपाई राखिएको अवैध १० लाख २० हजार रुपैयाँ, स्पास्मो जस्तो देखिने क्याप्सुल २६० पिस लागूऔषध, मोटरसाइकल १ थान र ओप्पो मोबाइल १ थान बरामद गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको डीएसपी कार्कीले जानकारी दिनुभयो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij