
शुक्रवार , बैशाख ३, २०७८
भैरहवा, ३ वैशाख ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रुपन्देही क्षेत्र नम्बर ३ अधिवेशनको घोषणा सभा शुक्रबार भैरहवामा सम्पन्न भएको छ । क्षेत्र नम्बर ३ मा प्रेम नारायण चौधरीको अध्यक्षतामा २३ सदस्यीय, क्षेत्र नम्बर ३ (क) मा अर्जुन थापाको अध्यक्षतामा २२ सदस्यीय र ३ (ख) मा क्यापेटन प्रेम बहादुर कुंवरको अध्यक्षतामा २३ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित भएको राप्रपा रुपन्देहीका उपाध्यक्ष अजय कुमार गुप्ताले बताए ।
राप्रपा रुपन्देहीका अध्यक्ष सागर प्रताप राणाको अध्यक्षता, पार्टीका वरिष्ठ नेता तथा पूर्वमन्त्री दिपक बोहराको प्रमुख आतिथ्यता, केन्द्रीय कार्यसम्पादन समिति सदस्य तथा पूर्व गृहमन्त्री निरञ्जन थापाको विशिष्ट आतिथ्यता, लुम्बिनी प्रदेश अध्यक्ष प्रदीप कुमार उदय, केन्द्रीय सम्पादन समिति सदस्य ताहिर अली, केन्द्रीय सदस्यहरु, जिल्ला पदाधिकारी लगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
एमाले वडा कमिटी सदस्य राप्रपामा प्रवेश
यसैबीच नेपाल कम्युनिष्ट पार्टी (एमाले) सिद्धार्थनगर नगरपालिका वडा नम्बर ८ कमिटी सदस्य नारायण प्रसाद रिजाल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा प्रवेश गरेका छन् । एमाले परित्याग गरी रिजाल राप्रपामा प्रवेश गरेका हुन् ।
त्यस्तै नेपाली कांग्रेस परित्याग गरी १२ जना नेता कार्यकर्ता राप्रपामा प्रवेश गरेको पार्टीका रुपन्देही उपाध्यक्ष अजय कुमार गुप्ताले जानकारी दिए ।
यो संगै राप्रपा रुपन्देहीको सम्पूर्ण क्षेत्र, नगर तथा इकाई निर्वाचन सम्पन्न भएको छ । राप्रपा रुपन्देहीको जिल्ला अधिवेशन वैशाख ३ गते शुक्रबार (आज) तथा घोषणा सभा वैशाख ४ गते (भोलि) हुने पार्टीले जनाएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij