
शनिवार , भाद्र २१, २०८२
भैरहवा, २१ भदौ । लुम्बिनी वल्र्ड पिस फोरमका संस्थापक बासु गौतम सम्मानित हुनुभएको छ । ‘१० लाख वृक्षारोपण तथा संरक्षण अभियान’ सफल बनाउनमा निरन्तर प्रयास र नेतृत्व गरेको भन्दै गौतमलाई काठमाडौंस्थित एनभाइरोन्मेन्टल एजुकेशन प्रोजेक्ट (कीप) ले सम्मान गरेको हो ।
सम्मानित भएपछि गौतमले भन्नुभयो–‘यो सम्मान हाम्रो साझा प्रयासको मान्यता हो । यसले अभियानलाई अझ सुदृढ बनाउनेछ र जलवायु परिवर्तनसित जुध्न अझै मद्दत गर्नेछ । हरियालीपूर्ण बनाउन प्रेरित गर्नेछ ।’
सन् २०१६ देखि लुम्बिनी वल्र्ड पिस फोरमले विभिन्न समुदाय र संस्थासँग सहकार्य गर्दै नेपालभर १० लाख वृक्षारोपण तथा संरक्षण अभियान सञ्चालन गर्दै आएको संस्थाको महासचिव सदिक्ष्या अर्यालले बताउनुभयो ।
महासचिव अर्यालका अनुसार गत वर्ष फोरम र किपले ग्रामीण समुदायमा जलवायु परिवर्तनविरुद्धका क्रियाकलापलाई प्रवद्र्धन गर्ने उद्देश्यले दिगोपनाका लागि साझेदारी गरेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij