२०८२, भाद्र २२ गते

Sep 07 2025 | २०८२, भाद्र २२ गते

निजामती सेवा दिवस : लुम्बिनीबाट ९ उत्कृष्ट कर्मचारी घोषित

आइतवार , भाद्र २२, २०८२

  • 199
    Shares
  • 199
    Shares
  • भैरहवा, २२ भदौ । निजामती सेवा दिवसको अवसरमा लुम्बिनी प्रदेशबाट उत्कृष्ट प्रदेश निजामती सेवा पुरस्कार, प्रदेश निजामती सेवा पुरस्कार र कार्यसम्पादनमा उत्कृष्ट ९ जनालाई सम्मान गर्ने गरी नामावली सार्वजनिक गरिएको छ । प्रमुख सचिव तथा पुरस्कार सिफारिस समितिका अध्यक्ष बाबुराम अधिकारीले आइतबार नामावली सार्वजनिक गर्नुभएको हो ।

    उत्कृष्ट प्रदेश निजामती सेवा पुरस्कार कृषि, भूमि यवस्था तथा सहकारी मन्त्रालयका सचिव यामनारायण देवकोटा र आर्थिक मामिला तथा योजना मन्त्रालयका वरिष्ठ लेखा अधिकृत रविन्द्र अर्याललाई प्रदान गरिनेछ ।
    त्यस्तै उत्कृष्ट निजामती सेवा पुरस्कार वन तथा वातावरण मन्त्रालयका वरिष्ठ वन अधिकृत टोलकराज चापागाईं, भौतिक पूर्वाधार विकास मन्त्रालयका वरिष्ठ इञ्जिनियर अरुण गुप्ता, स्वास्थ्य मन्त्रालयका कोल्ड चेन निरीक्षक मनोज कुमार श्रेष्ठ र मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अधिकृत शिव प्रसाद न्यौपानेलाई प्रदान गरिने भएको छ ।

    त्यसै गरी मन्त्रालयबाट सिफारिस भइ कार्यसम्पादनमा उत्कृष्ट ठहरिएका सामाजिक विकास मन्त्रालयका वरिष्ठ शिक्षा अधिकृत वेगम केसी, उद्योग, पर्यटन तथा यातायात मन्त्रालयका पुरातत्व अधिकृत कृष्णचन्द्र गिरी र स्वास्थ्य मन्त्रालयकी वरिष्ठ पब्लिक हेल्थ नर्स सीता कुवरलाई सम्मान गरिने भएको हो । संविधान दिवसको दिन उक्त सम्मान प्रदान गरिने जनाएको छ ।

    मूल समारोहमा विभिन्न समुदायका झाँकी प्रदर्शन गरिएको थियो भने कर्मचारीहरूले आफ्ना सिर्जनाहरू प्रस्तुत गरेका थिए । विभिन्न प्रतियोगितामा उत्कृष्ट हुने कर्मचारीलाई पुरस्कार प्रदान गरिएको थियो । लुम्बिनी प्रदेशमा निजामती सेवा दिवस उत्सवका रूपमा मनाइएको छ । भदौ २०, २१ र २२ गते तीन दिन विविध कार्यक्रमसहित दिवस मनाइएको हो । आइतबार प्रभातफेरी र मूल समारोह आयोजना गरिएको थियो।

    सभामुख तुलाराम घर्तीले सरकारको मेरुदण्ड निजामती सेवा भएको बताउनुभयो । उहाँले जनप्रतिनिधि र कर्मचारीबीचको समन्वय र सहकार्यले नै विकास र समृद्धिको चाहना पूरा गर्न सकिने उल्लेख गर्नुभयो । ‘सरकारको मेरुदण्ड निजामती सेवा हो । हामी सबैको सपना विकसित र समृद्ध देश हो । यसका लागि जनप्रतिनिधि र कर्मचारीबीच समन्वय आवश्यक छ,’उहाँले भन्नुभयो–‘राजनीतिक नेतृत्वले देखेको सपना र नीति पूरा गर्ने दृढता निजामती सेवाले लिन सक्नुपर्छ ।’

    वन तथा वातावरण मन्त्री देवकरण प्रसाद कलवार, ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री सीता शर्मा चौधरी र युवा तथा खेलकुद मन्त्री सन्तोष कुमार पाण्डेयले जनप्रतिनिधि र कर्मचारीबीच प्रभावकारी समन्वय आवश्यक रहेको र सहमति र सहकार्यबाट मात्र समृद्धिको लक्ष्य हासिल गर्न सकिनेमा जोड दिनुभयो । 

    प्रमुख सचिव बाबुराम अधिकारीले निजामती सेवालाई प्रभावकारी, सिर्जनशील र व्यवसायिक बनाउन सके सबैको जीत हुने बताउनुभयो ।

    नेपाल निजामती कर्मचारी संगठन लुम्बिनीका अध्यक्ष नेत्रप्रसाद आचार्यले सार्वजनिक प्रशासनलाई अझै सुधार गर्न आवश्यक रहेको बताउँदै विकास, समृद्धि र सुशासनका लागि यसलाई सुदृढ बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले कानूनमा एकरूपता आवश्यक रहेको र तीन तहमा कार्यरत कर्मचारीबीच भावनात्मक एकता हुनुपर्ने बताउनुभयो ।

    नेपाल निजामती कर्मचारी युनियन लुम्बिनीका अध्यक्ष बामदेव शर्माले संघीय निजामती सेवा ऐन नआउँदा कर्मचारीको वृत्ति विकासमा अनिश्चितता देखिएको उल्लेख गर्दै तत्काल संघीय निजामती सेवा ऐन जारी हुनुपर्ने माग गर्नुभयो ।