
सोमवार , भाद्र २३, २०८२
भैरहवा, २३ भदौ । लायन्स क्लब अफ सिद्धार्थनगर सेन्टिनियले भैरहवाका विद्यालयहरुको बस चालक र सह–चालकहरुका लागि ट्राफिक सचेतना तथा प्रशिक्षण कार्यक्रम गरेको छ । सिद्धार्थनगर नगरपालिका–८ स्थित साई ग्लोबल एकेडेमीमा कार्यक्रममा चालक र सह–चालक गरी ६३ जनाको सहभागीता रहेको क्लबले जनाएको छ ।
लायन्स सिद्धार्थनगर सेन्टिनियलका अध्यक्ष विपिन साहको अध्यक्षता तथा लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ पी का द्वितीय उपाध्यक्ष (सेकेण्ड भाइस डिष्ट्रिक गभर्नर) मीना पन्थीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि पन्थीले ट्राफिक सचेतनाको अभावमा पनि सवारी दुर्घटना हुने भएका कारणले यस्ता सचेतना कार्यक्रमले दुर्घटना न्यूनीकरण गर्न मद्दत पुग्ने बताउनुभयो ।
त्यस्तै लायन्स सिद्धार्थनगर सेन्टिनियलका अध्यक्ष साहले विद्यार्थी सुरक्षाको संवेदनशीलता र जिम्मेवार यातायात व्यवहार सम्बन्धी जनचेतना अभिवृद्धि गर्नु नै कार्यक्रम मुख्य उद्देश्य रहेको बताउनुभयो । उहाँले चालकहरुले तालिममार्फत ट्राफिक नियम, संकेत चिन्हहरु, लेन अनुशासन, गति सीमा पार्किङ नियम जस्ता कुराहरुको बारेमा स्पष्ट जानकारी भएमा सबै अभिभावक ढुक्क हुनुसँगै तालिमले चालकहरुमा आपूmले खेल्ने भूमिकाको महत्व र सामाजिक उत्तरदायित्वप्रति चेतना विकास गर्ने बताउनुभयो ।
क्लबका पूर्वअध्यक्ष सतिश कुमार कौसल (दीपक) ले तालिम प्राप्त चालकहरुले सवारी चलाउँदा सतर्कता अपनाउने भएका कारण सवारी दुर्घटनाको सम्भावना पनि कम हुने बताउनुभयो ।
कार्यक्रमबारे प्रकाश पार्दै क्लबका पूर्वअध्यक्ष लायन राजेन्द्र थापाले ट्राफिक सचेतना कार्यक्रमले चालक र सह–चालकहरुलाई ट्राफिक नियमसम्बन्धी धेरै जानकारी हुने र जसले सडकमा बालबालिकाको सुरक्षालाई सुनिश्चित गर्न मद्दत पुर्याउँछ बताउनुभयो ।
साई ग्लोबल एकेडेमीका प्राचार्य लक्षमण ज्ञवालीले प्रशिक्षित चालकले बस सञ्चालन गर्दा विद्यालय प्रशासन र अभिभावकहरु पनि ढुक्क हुने बताउनुभयो ।
कार्यक्रममा प्रमुख प्रशिक्षक जिल्ला ट्राफिक प्रहरी प्रहरी कार्यालय भैरहवा, रुपन्देही प्रहरी नायव निरीक्षक दान बहादुर रायमाझीले प्रशिक्षण दिनुभएको थियो । प्रशिक्षण कार्यक्रममा रायमाझीले ट्राफिक नियमको जानकारी, सुरक्षित सवारी सञ्चालन, विद्यार्थीहरुको सुरक्षामा ध्यान दिनुपर्ने कुराहरु र आपतकालीन अवस्थाको व्यवस्थापन सम्बन्धी विषयहरुमा जानकारी प्रदान गर्नुभएको थियो । उक्त तालिममा सहभागी सबैलाई प्रमाणपत्र वितरण गरिएको थियो ।
क्लबका फाइनासियल एडभाइजर तथा कार्यक्रम संयोजक सुनीता खातीको स्वागत, सह–कोषाध्यक्ष दिपेन्द्र शर्माको ध्वजा अभिवादन तथा क्लबका सचिव सिर्जना अधिकारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij