
सोमवार , भाद्र २३, २०८२
भैरहवा, २३ भदौ । जेसीआई सिद्धार्थ, नेपालको आयोजनामा अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । संस्थाले स्वर्णजयन्ती महोत्सव–२०८२ अन्तर्गत सोमबार भैरहवास्थित काशी नोबल एकेडेमीमा उक्त कार्यक्रम गरेको हो ।
प्रतियोगितामा बेलहिया माविकी पुजा विश्वकर्मा प्रथम, सनसाईन माविकी नयना अधिकारी द्वितीय, आर्य पब्लिक स्कूलकी शुभाञ्जली भट्टराई तृतीय र जेसीज स्कूलकी प्राब्दा के.सी.ले सान्त्वना स्थान हासिल गरेका छन् ।
प्रतियोगितामा प्रथम हुनेलाई रु. ७ हजार, द्वितीयलाई रु. ५ हजार, तृतीयलाई रु. ३ हजार र सान्त्वना हुनेलाई रु. २ हजार पुरस्कार प्रदान गरिने जेसीआई सिद्धार्थ, नेपाल वर्ष २०२५ का अध्यक्ष अर्जुन कुँवरले बताउनुभयो । उहाँले महोत्सव अन्तर्गत पाँचौं कार्यक्रमको रुपमा वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको जानकारी दिनुभयो । अध्यक्ष कुँवरले जेसीजले नेतृत्व र व्यक्तित्व विकाससँगै सामाजिक कार्य पनि गर्दै आएको बताउनुभयो ।
पुरस्कार भदौ २८ गते स्वर्ण जयन्ती महोत्सवको समापन समारोहमा वितरण गरिने महोत्सव मूल आयोजक समितिका संयोजक तथा जेसीआई सिद्धार्थ वर्ष २०२२ का अध्यक्ष कमल जि.सी.ले जानकारी दिनुभयो । प्रतियोगिताको निर्णायकमा सह–प्राध्यापक डा. दामोदर ढकाल र सह–प्राध्यापक डिल्लीराज भट्टराई रहनुभएको थियो । त्यस्तै समय सूचकको भूमिका जेसीआई सिद्धार्थका पूर्वअध्यक्ष सुमन शर्माले निर्वाह गर्नुभएको थियो ।
प्रतियोगितामा बोल्दै प्रमुख अतिथि जेसीआई सिद्धार्थ नेपाल वर्ष २००० की अध्यक्ष रुपमा हिराचनले स्वर्णजयन्ती महोत्सवको सफलताको शुभकामना व्यक्त गर्नुभयो । उहाँले जेसीआई सिद्धार्थप्रति गर्व गरिरहेको बताउनुभयो । निर्णायक सह–प्राध्यापक डिल्लीराज भट्टराईले जेसीआई सिद्धार्थ, नेपालले विभिन्न सामाजिक कार्य गर्दै आएको बताउनुभयो ।
काशी नोबल एकेडेमीका प्राचार्य राजेन्द्र घिमिरेले जेसीआई सिद्धार्थ लामो इतिहास बोकेको संस्था भएको बताउनुभयो । उहाँले कार्यक्रमको स्थानका लागि विद्यालयलाई छनौट गरेको भन्दै संस्थालाई धन्यवाद दिनुभयो ।जेसीआई सिद्धार्थ लेडी, नेपाल वर्ष २०२५ की अध्यक्ष प्रतिमा तिमिल्सिनाले जेसीज सिक्ने र सिकाउने थलो भएको बताउनुभयो ।
कार्यक्रम संयोजक शम्भु नेपालको स्वागत, जेसीआई सिद्धार्थका महासचिव आकाश पौडेलेको आस्था पाठ वाचन तथा ओजश शर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । वक्तृत्वकला प्रतियोगिताको विषय ‘स्वास्थ्य र समृद्धि, मेरो अधिकार, मेरो जिम्मेवारी’ रहेको थियो । प्रतियोगितामा १४ वटा विद्यालयका विद्यार्थीहरुको सहभागीता थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij