२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

असफल सरकार र असफल नेतृत्वका कारण मुलुकमा अस्थिरता : सुजाता कोइराला

शनिवार , बैशाख ४, २०७८

बुटवल, ४ वैशाख ।
नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले कोभिड महामारीसंगै सरकारसंग पनि लड्नुपर्ने बेला आएको बताएकी छन् । प्रधानमन्त्री केपी ओलीले एकलौटी रुपमा सत्ता सञ्चालन गर्न खोजेका कारण मुलक अस्थिरतामा फसेको बताउँदै असफल सरकार र त्यसको अवसफल नेतृत्वकाविरुद्ध सबै मिलेर लड्नुपर्ने बताइन् । मुलुकको राष्ट्रिय राजनीतिलाई सुधार गर्नको लागि कांग्रेस एकजुट हुनुपर्ने समेत उनको भनाइ थियो ।

नेपाली कांग्रेसका संस्थापक नेता तथा पूर्व प्रधानमन्त्री नेपाली कांग्रेसका पूर्व सभापति स्वर्गीय गिरिजाप्रसाद कोइरालाको ११ औं स्मृति दिवसको अवसरमा जीपि कोइराला स्मृति प्रतिष्ठान रुपन्देहीले बुटवलमा आयोजना गरेको अन्तर विद्यालय महिला भलिबल प्रतियोगिताको उद्घाटन गर्दै नेतृ कोइरालाले मुलुकको समृद्धि र विकासको लागि गिरिजाप्रसाद कोइरालाले लिएको सहमति, सहकार्य र एकता अपरिहार्य रहेको बताइन् । गिरिजाप्रसाद कोइरालाले लिएको सहमति, सहकार्य र एकताको नीतिकै कारण तत्कालिन विद्रोही माओवादीलाई शान्तिको बाटोमा रुपान्तरण गर्न सकिएको बताउँदै मुलुकको विकास र समृद्धिको लागि सहमति, सहकार्य र एकता अपरिहार्य रहेको बताइन् ।

प्रतिष्ठान रुपन्देहीका अध्यक्ष रामबहादुर कार्कीको अध्यक्षतामा भएको प्रतियोगिताको उद्घाटन कार्यक्रममा जिपि अध्ययन प्रतिष्ठानका अध्यक्ष युवराज गिरी, जिपि फाउण्डेशन लुम्बिनी प्रदेश अध्यक्ष तथा नेपाली कांग्रेस बुटवल नगर समितिका सभापति खेलराज पाण्डे, बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीका अध्यक्ष उज्ज्वलप्रसाद कसजू, प्रतिष्ठानका उपाध्यक्ष काजिमान श्रेष्ठ, महासचिव तथा प्रतियोगिताका संयोजक परमानन्द भट्टराई लगायतले भनाइ राखेका थिए ।