
बुधवार , भाद्र २५, २०८२
काठमाडौं, २५ भदौ । विद्यमान अवस्था नियन्त्रणमा लिन नेपाली सेनाले देशभर निषेधाज्ञा र कफ्र्यु जारी गरेको छ ।
शान्ति सुरक्षा कायम गर्नका लागि कप्mर्यु जारी गरिएको सेनाले बताएको छ । सेनाकाअनुसार भदौ २५ गते बेलुका ५ बजेसम्म देशभर निषेधाज्ञा जारी रहनेछ । नेपाली सेनाले अहिले काठमाडौं उपत्यकासहित देशभर नै गस्ती गरिरहेको छ ।
बिहानैदेखि खोलिएका पसलहरु बन्द गरेर घर बाहिर ननिस्किन आग्रह गरिएको छ । भदौ २३ गते सोमवार भएको जेन जीको प्रदर्शनमा २० जना भन्दा बढी विद्यार्थीको मृत्यु भएपछि एकाएक आन्दोलनले नयाँ मोड लिएको थियो ।
भदौ २४ गते मंगलवार देशभर नै आन्दोलन उग्र भयो । परिणामतः आन्दोलनकारीहरुले सरकारी सम्पतीमा तोडफोड, आगजनी गरे । सिंहदरबार, सर्वोच्च अदालत, संसद भवन, सञ्चारमाध्यमका कार्यालय, व्यवसायिक प्रतिष्ठान, नेताहरुका घर, पार्टी कार्यालयहरुमा तोडफोड र आगजनी भयो ।
कतिपय सरकारी सम्पतीमा लगाइएको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । काठमाडौं उपत्यकाको आकाश धुवाँमय अहिले पनि छ । सडकमा जलाइएका गाडीहरु देख्न सकिन्छ भने सिसा, इँट्टा, ढुंगाहरु यत्रतत्र छरिएका छन् ।
कारागारहरुमा भएको तोडफोडपछि देशभर रहेका करिव २८ हजार कैदीबन्दीमध्ये करिव आधा कैदीबन्दीहरु फरार छन् । आन्दोलनकारीहरु वार्तामा अझै गएका छैनन् । वार्ता भएपछि के गर्ने भन्ने स्पष्ट रणनीति समेत बनेको छैन ।
अब देश कसरी अघि बढ्छ, कसले देशको नेतृत्व गर्छ भन्ने पनि स्पष्ट योजना देखिँदैन । क्षति भएका संरचना बनाउन कति समय र धन खर्चिनुपर्ने हो र कति क्षति भयो अहिलेसम्म आँकलन हुन सकेको छैन ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij