२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

राप्रपालाई एकपटक मौका दिने जनताको मनस्थिति छ : दीपक बोहरा

शनिवार , बैशाख ४, २०७८

भैरहवा, ४ वैशाख ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता तथा पूर्वमन्त्री दीपक बोहराले राप्रपालाई एकपटक मौका दिने जनताको मनस्थिति रहेको बताएका छन् । उनले राप्रपाप्रति जनताको आकर्षण बढ्दै गएको दावी गरेका छन् । 

राप्रपा रुपन्देही जिल्ला कार्यसमितिको घोषणा सभालाई शनिबार भैरहवामा सम्बोधन गर्दै बोहराले अब निर्वाचनको तयारी गर्नुपर्ने बताए । उनले मुलुकमा राप्रपा नेतृत्वको सरकार आएपछि राजासहितको लोकतन्त्र, धार्मिक स्वतन्त्रतासहितको हिन्दुराष्ट्र र भ्रष्टाचाररहित सुशासन स्थापित गर्ने दावी गरे । ‘पार्टीको एजेण्डालाई जनताले समर्थन गर्नेछन् भन्ने हाम्रो विश्वास छ, राप्रपाको नीति तथा एजेण्डाको बारेमा अब जनताको घरघरमा पुगेर बताउनुपर्छ, बोहराले भने ।

उनले नेकपा एमालेको आन्तरिक संघर्ष तथा नेपाली कांग्रेस र मधेशवादी दल अलमलमा रहेकोले आगामी निर्वाचनमा जनताले राप्रपालाई रोज्ने बताए । कार्यक्रममा उपस्थित पार्टीका नेता तथा कार्यकर्ताहरुलाई बोहराले भने, ‘हामीले कम्मर कसेर अगाडी बढ्यौं भने प्रत्येक सिट राप्रपाको हुनेछ । अब पार्टीको संगठन अझ मजबूत बनाउनुपर्ने उनको भनाइ थियो । उनले पार्टीको गतिविधिलाई तीव्रताका साथ अगाडी बढाउन पार्टीका नेता तथा कार्यकर्ताहरुलाई आग्रह गरे ।IMG_6309.JPG

कार्यक्रममा राप्रपा केन्द्रीय सम्पादन समिति सदस्य तथा पूर्व गृहमन्त्री निरञ्जन थापाले गोलमेच सम्मेलन गर्नुपर्ने बेला भइसकेको बताए । 

राप्रपा केन्द्रीय कार्यसम्पादन समिति सदस्य निलकण्ठ काफ्लेले पार्टी विभाजन हुँदैन भन्ने कुरामा आफू प्रतिबद्ध भएको बताए । पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष प्रदीप कुमार उदयले मुलुकमा राजसंस्था नै सबै भन्दा ठूलो प्रजातन्त्रवादी भएको दावी गरे ।
राप्रपा लुम्बिनी प्रदेश उपाध्यक्ष कैलाश गुरुङले पार्टीको एजेण्डा स्थापित गरेर छाड्ने बताए । पार्टीका केन्द्रीय सम्पादन समिति सदस्य ताहिर अलीले आगामी निर्वाचनमा राप्रपाको जित सुनिश्चित रहेको दावी गरे ।

कार्यक्रममा नेकपा एमाले रुपन्देहीका सचिव विश्वराज बराल (अनुप), नेपाली कांग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाक, जनता समाजवादी पार्टी नेपाल (जसपा) रुपन्देहीका अध्यक्ष रामअवतार यादव, राष्ट्रिय जनमोर्चा रुपन्देहीका अध्यक्ष बद्रे आलम, रोहिणी गाउँपालिका उपाध्यक्ष शिवकान्ति हरिजन लगायतले बोल्दै स्थायीत्व र विकास अहिलेको मुद्दा भएको बताए ।
राप्रपा रुपन्देही जिल्ला उपाध्यक्ष अजय कुमार गुप्ताको स्वागत तथा युवा नेता शंकर खत्रीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

शुक्रबार सम्पन्न जिल्ला अधिवेशनले सागर प्रताप राणाको अध्यक्षतामा ४१ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत निर्वाचित भएको राप्रपा निर्वाचन समिति संयोजक अधिवक्ता दिलिप कुमार मल्लिकले बताए । राप्रपा जिल्ला सदस्यहरुमा चन्द्रशेखर प्रसाद पाण्डेय, अजय कुमार गुप्ता, कृष्ण प्रसाद भण्डारी, पुनाराम पोखरेल, युवराज तिमिल्सिना, बलराम शर्मा, दिनानाथ अहिर यादव, अरुण कुमार शाही, वजाहुदिन खान, मेघनाथ आचार्य, कृष्ण बहादुर गुरुङ, छेदीलाल श्रीवास्तव, राजेश कुमार ढकाल, अहमद अलि शाह, कलावती देवी यादव, महमुद आलम खान, परदेशी यादव, गोविन्द प्रसाद पोखरेल, घनश्याम गुप्ता (तेली), सजुरुल इस्लाम,राजु प्रसाद वनिया, रफिक शाह, जोगराज अधिकारी, निर्मलाचन्द ठकुरी, विर बहादुर क्षेत्री, नाजिर अलि मुसलमान, अमरनाथ त्रिपाठी, ओम प्रकाश चौधरी, सविर अलि पठान, लाल बहादुर ठकुरी, संजय चौधरी, पदमा कुमारी थापा, विक्रम केसी, उमा राना, विजय रत्न शाक्य, उषा पोखरेल, रुकमागत पाण्डे, चुन्न प्रसाद थापा, अधिवक्ता प्रदिप शेरचन र यम बहादुर सुनार रहेका छन् ।

खबरपात्रोकर्मी सम्मानित

IMG_6338.JPG

यसैबीच सञ्चार क्षेत्रबाट योगदान पुर्याएको भन्दै खबरपात्रोकर्मी रबिन्द्र प्रताप गुप्ता सम्मानित भएका छन् । राप्रपाको नीति, सिद्धान्त, विचार साथै गतिविधिलाई सञ्चार माध्यममा स्थान दिदै पार्टीको विकासमा गरेको महत्वपूर्ण योगदान गरेको भन्दै खबरत्रपात्रो डटकमका समाचार सम्पादक गुप्तालाई जिल्ला कार्यसमितिको घोषणा सभामा नगद ५ हजार १ सय सहित सम्मान–पत्रद्वारा सम्मान गरिएको राप्रपाले जनाएको छ । पत्रकार गुप्तालाई राप्रपाका वरिष्ठ नेता तथा पूर्वमन्त्री दीपक बोहराले दोसल्ला ओढाई नगद तथा सम्मानपत्रद्वारा सम्मान गरेका हुन् । त्यस्तै राप्रपाले पार्टीमा रहेर क्रियाशिल रहँदारहँदै ज्यान गुमाएका तीन सहिद परिवारलाई सम्मान गरेको छ । राप्रपाले स्व. वृजमान श्रेष्ठ, भागिरथी यादव र बैतुल्लाह फकिरका परिवार तथा प्रतिनिधिलाई सम्मान गरेको हो ।