
शुक्रवार , भाद्र २७, २०८२
भैरहवा, २७ भदौ । रुपन्देही जिल्लाको भैरहवामा शान्ति–सद्भाव र्याली निकालिएको छ । लुम्बिनी प्रेस क्लब, रुपन्देही, नेपाल उद्योग वाणिज्य महासंघ, लुम्बिनी प्रदेश, सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देही, चेम्बर अफ कमर्स, रुपन्देही, सिद्धार्थ सञ्जाल, रुपन्देही, सिद्धार्थ सार्वजनिक यातायात प्रा.लि., नेपाल भन्सार एजेण्ट संघ सिद्धार्थनगर, सिद्धार्थ होटल संघ, नेपाल, भैरहवा मर्निङवाक गु्रप, होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन, रुपन्देही र पश्चिमाञ्चल यायायात प्रा.लि.को संयुक्त आयोजनामा र्याली निकालिएको हो ।
शुक्रबार बिहान नेपाल–भारत सीमा नाका बेलहियाबाट सुरु भएको र्याली विभिन्न स्थान हुँदै बुद्धचोकमा पुगेर समापन भएको थियो ।
लुम्बिनी प्रेस क्लब भैरहवा, रुपन्देहीका अध्यक्ष कमल रायमाझीले भ्रष्टाचार र बेथितिविरुद्धको आन्दोलनका क्रममा केही व्यक्तिहरुले घुसपैठ गरेर सरकारी र निजी सम्पत्तिमाथि आक्रमण गरेको बताउनुभयो । उहाँले शान्तिको कामना गर्दै शुक्रबार बिहान भैरहवामा शान्ति–सदभाव ¥याली निकालिएको जानकारी दिनुभयो । उद्योगी–व्यवसायी, नागरिक समाज, सञ्चारकर्मी, सुरक्षाकर्मी, सामाजिक संघ–संस्थाका प्रतिनिधि लगायतको सहभागीतामा नेपाल–भारत सीमा नाका बेलहियादेखि बुद्ध जन्मस्थल लुम्बिनीको प्रवेशद्वार भैरहवाको बुद्धचोकसम्म ¥याली निकालिएको उहाँले बताउनुभयो । उहाँले मुलुकमा शान्ति सुरक्षा हुनुपर्ने र देशले निकास पाउनुपर्ने माग गर्नुभयो ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी डा.टोकराज पाण्डेले आ–आफ्ना पेशा र व्यवसायलाई मर्यादित तथा सुरक्षित ढंगबाट अगाडि बढाउन आग्रह गर्नुभयो । उहाँले शान्ति–सुव्यवस्था कायम गर्न सबैले हातेमालो गरेर अगाडि बढ्नुको विकल्पन नरहेको उल्लेख गर्नुभयो । ‘पछिल्लो समय घटेका घटनाबाट मर्माहत भएका छौं, लुटपाट, आगजनी, तोडफोड लगायतका घटनामा संलग्न व्यक्तिहरुको फुटेज, भिडियो लिएका छौं । अब क्रमशः उनीहरुलाई पक्राउ गरेर कानूनअनुसार कारवाही प्रक्रिया अगाडि बढाउँछौं, ’उहाँले भन्नुभयो ।
सडकमा आएर अराजक गतिविधि निम्त्याउनेहरुमाथि बल प्रयोग गरिने र उनीहरुको फोटो, भिडियो लिएर उनीहलाई नियन्त्रणमा लिएर कानूनी कारवाही प्रक्रिया अगाडि बढाइने उहाँको भनाइ छ । उहाँले प्रहरी–प्रशासनलाई साथ र सहयोग गरेर शान्ति–सुव्यवस्था कायम गर्न मद्दत पुर्याउन आग्रह गर्नुभयो ।
स्थानीय युवा सागर ज्ञवालीले भ्रष्टाचारविरुद्ध जेनजी समूहले गरेकोआन्दोलनमा केही अराजक तत्वको घुसपैठका कारण क्षति पुगेको बताउनुभयो । उहाँले आन्दोलनमा क्रममा निधन भएका व्यक्तिहरुको आत्माको चिरशान्तिको कामना गर्नुभयो । ज्ञवालीले अब देश नयाँ बाटोमा गएको बताउनुभयो । उहाँले नयाँ नेपाल बनाउनेतर्फ सबै लाग्नुपर्नेमा जोड दिनुभयो ।
नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्माले युवाहरुका जायज माग सम्बोधन गर्दै अगाडि बढ्नुपर्ने बताउनुभयो । उहाँले संयमित भएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । युवाको जायज मागप्रति निजी क्षेत्रको ऐक्यबद्धता रहेको उहाँको भनाइ छ ।
रुपन्देहीमा आन्दोलनमा क्रममा सरकारी निकायका भवन, निजी सम्पत्ति, होटल, व्यवसायिक भवनमा तोडफोड, आगजनी तथा लुटपाट हुँदा ठूलो क्षति पुगेको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij