
सोमवार , भाद्र ३०, २०८२
भैरहवा, ३० भदौ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले तोडफोड, आगजनी एवं लुटपाट हुनुपूर्व आ–आफ्नो प्रतिष्ठान तथा निजी भवन एवं पसलहरुमा रहेका सि.सि.टि.भी. फुटेज, भिडियो रेकर्ड लगायतका प्रविधिका रेकर्ड भएका सूचना प्रमाणका रुपमा महत्वपूर्ण हुने भएकाले आफूसँग भएका फोटो, भिडियो, जानकारी उपलब्ध गराउन आग्रह गरेको छ । आइतबार कार्यालयले विज्ञप्ती जारी गर्दै यस्तो आग्रह गरेको हो ।
पछिल्लो समय देशका विभिन्न भागमा भए÷गरेका आन्दोलनका कारण भदौ २३ देखि २८ गतेसम्म रुपन्देहीका संघ÷प्रदेश÷स्थानीय तहका कार्यालयहरु, राजनैतिक दलका पार्टी कार्यालयहरु, उद्योग, वाणिज्य, व्यापार संघ एवं व्यवसायिक प्रतिष्ठान, बैंक तथा वित्तीय संस्थाहरु, उद्योगधन्दा, कलकारखाना, निजी भवन, पसलहरुलगायतका संरचनाहरु र सवारीसाधनमा भएको तोडफोड, लुटपाटमा संलग्न केही उच्छृङ्खल व्यक्तिहरुलाई पक्राउ गरी कानूनी प्रक्रिया अघि बढाइएको सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी चिरन्जिवी रानाले जानकारी दिनुभयो ।
यसप्रकारका क्रियाकलापमा संलग्न व्यक्ति तथा समूहलाई कानूनबमोजिम कारवाही गर्न आफूसँग भएका फोटो, भिडियो, जानकारी जिल्ला प्रशासन कार्यालय वा नजिकको प्रहरी कार्यालय तथा सुरक्षा निकायमा उपलब्ध गराउन रानाले आग्रह गर्नुभयो । जिल्लामा हाल सार्वजनिक सेवा प्रवाह लगायत विद्यालय, व्यापार, व्यवसाय सञ्चालनमा आइ जनजीवन सामान्य बन्दै गइरहेको उहाँले बताउनुभयो ।
‘शान्ति सुरक्षा, अमन चयनमा बाधा विरोध हुने कुनै घटना भइरहेको वा हुन सक्ने सम्भावना देखिएमा सोको फोटो÷भिडियो आदि लिई सुरक्षित राख्नुहुन र नजिकको प्रहरी कार्यालय वा जिल्ला प्रशासन कार्यालयमा उपलब्ध गराउन कार्यालयले सम्पूर्ण जिल्लाबासीहरुमा अनुरोध गरिन्छ, ’विज्ञप्तीमा उल्लेख छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij