२०८२, आषाढ ३१ गते

Jul 15 2025 | २०८२, आषाढ ३१ गते

सडक दुर्घटना न्यूनीकरणको माग गर्दै गृह सचिवलाई ध्यानाकर्षण पत्र

आइतवार , बैशाख ५, २०७८

भैरहवा, ५ वैशाख ।
विभिन्न प्रयोजनका लागि सञ्चालित टिप्पर, हाईवा तथा अन्य सवारीसाधनबाट हुने दुर्घटना न्यूनीकरणको लागि ठोस कदम चाल्न माग गर्दै समाजशात्री तथा अभिवक्ता प्रख्यात बन्जाडेले ध्यानाकर्षण पत्र बुझाएका छन् । बन्जाडेले गृह मन्त्रालयका सचिव महेश्वर न्यौपानेलाई दुर्घटना न्यूनीकरण गर्न चाल्नुपर्ने कदमहरु समेटिएको बुंदासहित उक्त ध्यानाकर्षण पत्र बुझाएका हुन । सुरक्षित यात्रा मनुष्यको नैसर्गिक अधिकार भएकोले आफूले विगतदेखि नै दुर्घटना न्यूनीकरण हुनुपर्ने माग गर्दै आएको बन्जाडेको भनाइ छ । 

टिप्पर, हाईवाबाट विशेष गरी नेपाल सरकारले दिएको मापदण्डविपरीत ढाला भन्दामाथि सामान बोक्न दिन नहुने, सरकारले दिएको क्षमता भन्दा बढी देश तथा विदेशका मालवाहक गाडीहरुले ओभरलोड गर्न नहुने, ढालामाथि अनिवार्य रुपमा त्रिपाल लगाउनुपर्ने, टिप्पर हाईवाको कच्चापदार्थ वा अन्य सामानहरु एक ठाउँदेखि अर्को ठाउँमा जानुपरेमा अनिवार्य रुपमा एउटा निश्चित ठाउँलाई आधार मानी त्यहाँबाट टाईमकार्ड लागु गर्नुपर्ने, कुनै पनि देशमा सवारीसाधनको बम्फर मुनी तल मात्र हेलोजन लाईट, फग लाइट, राख्न पाउने प्रावधान भएकोले बम्फरभन्दा माथि कम्पनीले दिएको लाईटबाहेक अन्य कुनै बत्ती राख्ने दिन नहुने ध्यानाकर्षण पत्रमा उल्लेख छ  ।

त्यस्तै विभिन्न सवारीसाधनबाट हुने दुर्घटना नियन्त्रण गर्नका निम्ति सडकको छेउछाउमा गति देखिने चिन्ह राख्नुपर्ने, सडककको मर्मत यथाशिघ्र हुनुपर्ने, तीव्र गति नियन्त्रणका निम्ति अविलम्व रुपमा स्पेडो मिटर ट्राफिक प्रहरी वा सम्बन्धित नियकायले प्रयोग गर्नुपर्ने, अनावश्यक बेरिकेटिङलाई अविलम्ब हटाई यात्रालाई सुरक्षित यात्रामा परिणत गनुपर्ने, मालबाहक तथा सार्वजनिक यातायातका सवारीसाधनहरुले चर्को आवाजले सुनिने गरी प्रेसर हर्नको प्रयोग गर्दा ध्वनी प्रदूषणको कारण पैदल यात्रुहरुको छाती तथा कानसम्बन्धि समस्या उत्पन्न हुने हुदाँ यो हर्नको विकल्प खोज्नुपर्ने, सवारी चालक अनुमतिपत्र (लाइसेन्स) चेकजाँच गरेर नक्कली लाइसेन्स बोकेर चलाउनेमाथि कारवाही गर्नुपर्ने उनको माग छ ।